भर्खरै : Sorry, your browser does not support inline SVG.

डेङ्गु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

डेङ्गु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

सुनसरी । धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए।

उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ। बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ।

डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए। वडा समिति कार्यालय आ–आफ्नो वडामा नि:शुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए।

धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शय्या पाउन मुश्किल भएको छ। यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।

 


Thali Mobile Pvt.Ltd.