ओखलढुंगा । वादी समुदायले बनाएका मादल बिक्न छाडेको छ ।ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ को चप्लेटी गाउँमा रहेका उक्त समुदायले बनाएका मादल विक्न छोडेका हुन । मादल बिक्री कम हुँदा अहिले अर्डरमा मात्रै बादी समुदायले मादल बनाउँदै आएका छन् । पहिलेजस्तो हाटबजारमा लगेर र गाउँ डुलाएर बिक्री गर्न समेत छाडिएको छ ।
वादी समुदायले एउटा मादलको २ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । मादलको ताल, ताना र खरी हालेको ३ हजार ५ सय रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।
तिहारको मुख्य सिजनमै मादलक कम बिक्री हुँदा उनीहरूको मेहनत र लगानी नउठ्ने अवस्था आएको छ ।
चप्लेटी गाउँमा ९ घर वादी वस्ती छ । यहाँका वादी समुदायको मुख्य पेशा नै मादल बनाउने हो । बाजेको पालादेखिको सीप प्रयोग गरेर बनाउँदै आएको मादल तिहारमा बिक्री नहुँदा मारमा परेको बादी समुदायले जनाएको छ । तिहारको वेला खेलिने देउसी भैलो कार्यक्रमले गर्दा मादल विक्रि वितरण भए पनि पछिल्लो क्रममा देउसी खेल्लने परम्परा समेत हराउँदै गएको छ ।
