भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

कञ्चनपुर । बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरु पेसा रोजेका हुन् ।

“पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी, पञ्चदीप, भोकर चढाउने चलन निकै थियो”, उनले भने, “ती सबै स्थानीय आरन चलाउनेले बनाउने गर्दथे, हाल बजारमै सबै सामान किन्न पाइन्छ, हातले बनाउँदा टिकाउ भए पनि महँगो हुन्छ, बजारमा सस्तो छ ।” मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उनले बताए ।

घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उनको भनाइ छ । “हाल हँसिया बनाउने र त्यसमा धार लगाउने कार्यबाहेक अरु काम नआउँदा परिवारको खर्च धान्न मुस्किल भएको छ”, उनले भने, “पहिला कमाइ हुन्थ्यो, त्यही भएर एक कठ्ठा जग्गा खरिद गरी तीन छोराको विवाह गर्न भ्याएँ, अहिलेको जस्तो भए भोकभोकै बस्नु पर्दथ्यो ।”

पैसठ्ठी वर्षीय ताम्राकारले आरन पेसालाई निरन्तरता दिँदै आए पनि उहाँका तीनवटै छोरा भने कमाइका लागि भारतमा काम गर्दै आएका छन् । आरनबाट मासिक रु तीनदेखि पाँच हजारसम्ममात्रै आम्दानी हुने गरको उहाँ सुनाउछन् । “धान, गहुँ काट्ने सिजनमा केही कमाइ हुन्छ”, उनले भने, “बाँकी समय थोरैमै चित्त बुझाउनुपर्ने हुन्छ, पुर्खौँदेखिको पेसा भएकाले छाड्न पनि सकिएको छैन ।”

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आरनको काम गर्दै आउनुभएका लक्षी लुहारलाई पनि परिवार पाल्नकै चिन्ता छ । “परम्परात पेसालाई आधुनिक बनाउन नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ”, उनले भने, “आरनलाई आधुनिक बनाउन सरकारी पक्षबाट अनुदानको व्यवस्था गरिनु पर्दछ ।” बाबुबाजेदेखि सिकेको पेसा नै यही भएकाले अरु काम गर्न नआउँदा अन्योता छाएको उनले बताए । “आरनको काम गर्नेको कमाइ छैन, समाजमा मानप्रतिष्ठा पनि छैन”, उनले भने, “त्यही भएर घरका छोरा भारतमा काम गर्न बाध्य छन् ।”

भारतीय पहाडमा विद्युत्का पोल बोक्ने, सडक खन्ने, विद्युत् पावर हाउसको सुरुङ निर्माण गर्ने र पानीको बाँध बनाउने कार्यमा दलित समुदायका युवाहरू संलग्न छन् । अर्काको जमिनमा खोकाछाप्रा बनाएर आरन चलाउँदै आएका पदम कामी परम्परागत पेसालाई निरन्तरता दिँदै आएका छन् ।  “हातमा सीप भनेको त्यही परम्परागत आरन चलाउनुमात्रै हो”, उनले भने, “यसबाट आएको रकम र अन्नले सात जनाको परिवारको पेट पाल्न मुस्किलले पुगेको छ”, रातदिन फलाम थिच्दा पनि मुस्किलले दुई छाक खान नपुग्ने गरेको उहाँको दुःखेसो छ ।

“पेसालाई आधुनिकीकरण गरी सहजरूपमा जीवनयापन गर्नका लागि स्थानीय तहले योजना बनाउनुपर्ने हुन्छ”, दलित अगुवा शिवी लुहारले भने, “अहिलेसम्म आरन चलाएर जीविका चलाउने दलित समुदायका व्यक्तिका लागि योजना बनाइएका छैनन्, पेसालाई आधुनिकीकरण गरी बिनाधितो समूह जमानीका आधारमा ऋणको व्यवस्था गरिनुपर्छ, त्यो पनि हुनसकेको छैन ।” आरन चलाउने दलित समुदायसँग भएको परम्परागत सीप पुरानो भइसकेकाले युवालाई परम्परागत सीपमा परिमार्जन गरी संलग्न गराइनुपर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.