ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार

ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार

काठमाडौं, १३ असाेज । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन् । दुई देशबीच बढेको व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा भेटवार्ता भएको केही दिनपछि नयाँ भन्सार सूची सार्वजनिक गरिएको हो ।चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइलालगायत एक हजार ६१९ प्रकारका वस्तुमा भन्सार घटाउने भएको छ । यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गर्नेछ ।

अमेरिकाले भन्सार घटाउने वस्तुमा आतिशबाजी, भान्साका सामग्री, काठ तथा सिसाका सजावटी सामान र फुटबललगायत रहेका छन् । नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग विस्तार गर्न सहयोग पुग्ने चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक तथा व्यवसायीलाई चिनियाँ बजारमा थप पहुँच पुग्ने बताएका छन् ।

तर चिप, विद्युतीय गाडी र ब्याट्रीजस्ता रणनीतिक महत्वका वस्तु भने नयाँ भन्सार कटौतीमा समेटिएका छैनन् । विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ्न सक्ने भए पनि यसको समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.