काठमाडौं, १३ असाेज । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सहायक सडक प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
काठमाडौँ उपत्यका र बागमती प्रदेशअन्तर्गत ललितपुरको कान्तिलोकपथ तथा टिकाभैरव–चारघरे सडक पहिरोका कारण बन्द छन् । धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । तर धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्म आवागमनमा रोक लगाइएको छ ।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण ठप्प छन् । मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ । काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गलगायत सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ ।
गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । मनाङको चामे–बेंसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पूर्ण रूपमा बन्द छन् । त्यस्तै जोमसोम–कोरला, मालढुङ्गा–बेनी, मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्गका विभिन्न खण्डमा समेत यातायात प्रभावित भएको छ ।
लुम्बिनीको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णालीको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोला र मुगुको नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छन् ।
प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।
