काठमाडौं, १४ असाेज । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयकसँगै पशु वधशाला तथा मासु जाँचसम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेका विधेयक पनि संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सङ्घीय निजामती सेवा विधेयक लोक सेवा आयोगबाट राय तथा परामर्श लिएपछि मन्त्रिपरिषद्मा लगिएको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि अब विधेयक संघीय संसदमा दर्ता हुने प्रक्रिया अघि बढ्नेछ ।
बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, कमला–ढल्केबर–पथलैया सडकखण्ड, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका केही संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापनसमेत गरेको छ । आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।
