पार्टीका हरेक गतिविधिलाई जनताको जीवनस्तरसंग जोडेर लैजानु पर्छ । जनजीविकाकाे सवाल नै छलफल, बहसकाे केन्द्र बन्नु पर्छ भनेर लडिरहने तथा जनताका छोराछोरीलाई निःशुल्क शिक्षा, उपचार तथा रोजगारीको ग्यारेन्टी गरिनु पर्छ भनेर निरन्तर लडिरहने एवं पार्टी भित्र फरक पहिचान बनाउन सफल नेकपा माओवादी केन्द्रका युवा नेताको रुपमा परिचित निर्मल आचार्यसंग दाङको महत्व र विकास निर्माणका विषयमा गरिएको कुराकानीको सारसंक्षप यहाँ प्रस्तुत गरिएको छः सम्पादक
स्वागत छ यहाँलाई
धन्यवाद
एयरपोर्टबाट सय किलो सुन कसरी भित्रियो र यो घटनालाई कसरी हेरिरहनु भएको छ ?
बेथिति विभिन्न ठाँउहरुमा छन् भन्ने कुरा जनताले देख्न पाए । शिक्षा, स्वास्थ्य, रोजगारीका प्रसंगलगायत जताततै बेथिति मौलाएको छ । यसमा दुईटा कुरा हुन्छ । बेथितिलाई हेरेर बस्ने या त्यस विरुद्ध आवाज उठाउने ।
राजनीतिकर्मी, तपाईंहरु जस्ता पत्रकार साथीहरु, साहित्यकार, लेखक, गायक, कालाकार, कवि सबैले त्यस विषयमा आ–आफ्ना क्षेत्रबाट निर्मम भएर बेथितिका बारेमा आवाज उठाउनु पर्छ । कहाँ कहाँ छ बेथिति सबै बाहिर ल्याउने हो भने त्यसको कार्यान्वयन गर्ने काम त सरकारको हो नि ।
जसरी बेथिति बाहिर आयो त्यसको अब सरकारले कडा रुपमा कार्यान्वयन गर्न खोजिरहेको छ । सरकारले कडाईपूर्वक नलिएको भए सायद यो केस पनि बाहिर आउने थिएन । सरकार एक्शनमा उत्रिएपछि एयरपोर्टको घटना बाहिर आएको हो । यसको सबैले प्रसंसा गर्न जरुरी छ । ठोस प्रमाणसहित ठुलो एक्शन गर्ने कुरा त सरकारको उपलब्धि हो ।
तर, प्रतिपक्ष एमाले त प्रम र गृह मन्त्रीको राजीनामा देखि सदन अवरुद्ध सम्मका कार्यमा लागेको छ यसलाई के भन्नु हुन्छ ?
प्रतिपक्षले जुन ढङ्गले गतिविधि गरेको त्यो गलत छ । यदि उसले बुझेको भएत भ्रष्टाचार, यसतो सुन तसकरी जस्तो अपराधमा सरकारको साथ दिनु पथ्र्यो । प्रतिपक्ष एमाले पार्र्टी भित्र अहिले गम्भिर अन्तरद्वन्द्व छ । के साँच्चिकै राम्रो ग¥यौँ त ? नेकपा गठन पछाडी दुईतिहाइमा रहेको कम्युनिष्ट सरकार, सातै प्रदेश र स्थानीय तह सम्म बढि ठाँउमा दुईतिहाइ भन्दा बढिको संख्यामा सरकारमा सहभागि थिए ।
त्यो विघटन गर्ने काम ठिक भयो त ? कम्युनिष्ट पार्टीलाई टुक्रा टुक्रामा विभाजन गर्ने काम सहि ग¥यौँ त ? यसको अहिले छलफलमा एमाले लागेको छ । त्यसैले पछिल्लो चरणमा आउँदा जुन ढङ्गले गठबन्धन बनेको थियो त्यहाँ ठिक ढङ्गले नेत्रृत्व गर्न किन सकिएन भन्ने कुरा प्रतिपक्ष पार्टी भित्र छलफलको मुख्य विषयका रुपमा प्रवेश गरेको छ । प्रतिपक्षको नेता केपी शर्मा ओलीलाई हामी पनि सम्मान गर्छौं ।
तर उहाँको पार्टी भित्र उहाँको अगाडी गएर कोही पनि बोल्न सक्दैन । यस्तो खालको छाप नेताहरुमा बसेको छ । केन्द्रीय सदस्यका रुपमा मैले काम पनि गरेको छु । व्यक्तिगत रुपमा म सदरमुकाममा बसेर काम गरेको पात्र हुँ । त्यसकारण नेताहरुको स्वभावको बारेमा मैले राम्रोसंग बुझ्ने पनि गरेको छु । त्यसैले उहाँसंग प्रत्यक्ष तपाईंको यो गल्ती हो भनेर बोल्न सक्ने मान्छे कोही पनि छैन ।
उहाँको कार्यशैली पार्टी भित्र चित्त बुझिराखेको छैन । प्रतिपक्षले जुन संगति मिलाएर गतिविधि गर्नुपर्ने हो । राम्रो कामलाई राम्रो र गलतलाई गलत हो भन्न सक्ने ल्याकत राख्नु पर्ने हो । आवेश र भावनामा आएर प्रचण्डले एउटा प्रसङ्ग (पुस्तक विमोचन) मा भनेको कुरालाई केपी जिले उठाउनु भयो । ठिक छ जिब्रोबाट चिप्लीएका विषय एक ठाँउमा ठिक होला ।
तर जुन ढङ्गले भ्रष्टाचारसंग सम्बन्धीत विषयमा स्यावास नेपाल सरकार भन्ने ठाँउ मा राजीनामा माग्ने, सदन अवरुद्ध पार्ने हर्कत साह्रै गलत हो । अर्को कुरा एमाले निकट पत्रकारको केन्द्रीय अध्यक्षले नै गएर गृहमन्त्रीसंग माफी माग्नु पर्ने अवस्था आयो । एउटा पत्रकारको धर्म निभाउनु पर्नेमा उल्टै गलत अफवाह फैलाउदा आफ्नै गरीमामा आँच आयो । त्यो कुरा त तपाईंले पनि देख्नु भयो ।
अर्को कुरा एमालेको महासचिव मेरो दाङ कै नेता हुनुहुन्छ शंकर पोख्रेल । उहाँलाई म अहिले पनि सम्मान गर्छु । उहाँले प्रस्टै रुपमा भन्नुभएको छ । गरेर सबै नराम्रो कामहरु टुपिन्छ र ? भनेर । अहिले गरेको काम त राम्रो रहेछ नि । त्यो त स्वीकार्नु भयो त । सुन काण्डमा सरकारले जुन पहल कद्मी लिएको छ, त्यो काम राम्रो हो भनेर त स्वीकार्नु भयो त । त्यसैले एमाले पार्टीलाई अहिलेको नेतृत्वले ठिक ठाउँमा लिएर गएको छ त ?
चाहे माओबादीबाट हुन या अरु पार्टीबाट एमाले प्रवेश गरेका हुन । उनीहरुलाई प्रवेश गराउँदै अवसरको लोभमा भूलाउदै गर्दा तिनीहरु विभिन्न काण्डमा मुछिए । त्याग र तपस्या र योगदान गरिरहेका कार्यकर्तालाई पार्टीमा लत्याएर लोभी पापीलाई पापको कुण्डमा मुछ्दा खेरी निस्कने परिणाम पनि यहि हो । यो सबै कुराले गर्दा पार्टी भित्र उहाँहरुको गम्भिर बहस भइरहेको छ ।
एमाले पार्टी भित्र जनवाद मरेको छ । मदन भण्डारीले प्रयोग गरेको जनवाद नै हो । चितवनमा भएको एमाले महाधिवेशनमा जनवादलाई कच्याक कुचुक पार्न खोजे त्यही कारण केपी ओली र आन्तरिक पार्टी भित्र अन्तरद्वन्द्व छ । होइन भने अहिले सुन काण्डको विरुद्धमा मसाल जुलुस निकाल्न के जरुरी थियो । हेर्नुहोस अहिले प्रम आफै फिल्ड कमाण्डर, फिल्ड मार्सलको रुपमा अगाडि बढ्नु भएको छ ।
त्यस्ता लिडर नारायणकाजीलाई विना प्रमाण आरोप लगाएपछि अहिले एमालेले नाक खुम्च्याउनु परेको छ । सरकारले जनताको आशलाई मर्न नदिएर स्टेप चालेको छ । यसले मा विस्तारै विस्तारै आशाको त्यान्द्रो पलाएको मात्रै छैन, भ्रष्टाचारीको महलमा हल्लीखल्ली मचाइदिएको छ भन्ने मेरो बुझाइ हो ।
त्यसो भए भ्रष्टाचारीहरु जेल जान्छन् भन्ने जनताको आशा निराशामा परिणत हुने छैन ?
अवस्यै भ्रष्टाचारीहरु जेल जान्छन् । अर्को कुरा भ्रष्टाचार यहाँ यहाँ हुन्छ भन्ने कुराको समेत जनताले जानकारी राखेर भ्रष्टाचार गर्न दिनु हुदैन भन्नेमा सचेत पनि भएका छन् । जनता विस्तारै जागीरहेको छन् र जाग्नु पनि पर्छ । यो सकारात्मक बाटो हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
जनजीविकाको सवालबारे पार्टीको माथिल्लो तहमा छलफल हुन्छ कि हुदैन ? अझ त्यसभित्र श्रमजिवि, सर्वहारा वर्गको बारेमा चिन्तार चाँसो हुन्छ कि हुदैन ? धनीहरुको प्रभुत्व बढ्ता चल्दै गएको देखिन्छ नि यहाँ पार्टीको केन्द्रीय सदस्यको नाताल के भन्नु हुन्छ ?
सर्व प्रथम त क. पुष्पलाल प्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु ।
उहाँको उच्च सम्मान सहित नेपाली भुमिमा माक्र्सवादको वस्तुगत प्रयोग कस्तो हुन्छ ? भनेर प्रस्तावना पेश गर्ने, कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा उल्था गर्ने, जनवादी कार्यक्रमलाई लिपीवद्ध गरेर जुन ढङ्गले उहाँले भुमिका निर्वाह गर्नु भएको छ । अन्तरसंघर्षका क्रममा विभिन्न आरोप लागेपनि उहाँ कम्युनिष्ट आन्दोलनको मुर्धन्य व्यक्तित्व हो ।
कम्युनिष्टहरुले परिकल्पना गरेको समाज भनेको गरिब, दुःखिहरुलाई राज्यसत्तामा ल्याउनु पर्छ, मान्छे मान्छे एउटै हो भन्ने सिद्धान्त स्थापित गर्नुपर्छ भन्ने आधारमा कम्युनिष्ट पार्टीको स्थापना भएको हुन्छ । तपाईंले भनेको जस्तै कम्युनिष्ट पार्टी पनि कहाँबाट बन्यो ? मेरो आफ्नो विष्लेषण समाजमा जे छ त्यहि पार्टी भित्र हुन्छ । तुलनात्मक रुपमा माक्र्सवाद पढेको छ र उ जनताप्रति प्रतिबद्ध हुनुपर्छ, त्यो सिद्धान्तको कुरा भयो ।
तर व्यवहारीक रुपमा कम्युनिष्ट पार्टीमा समाजमा जे छ त्यहि आउँछ । समाजमा चोर छ भने पार्टी भित्र पनि चोर आउँछ, समाजमा बदमास छ भने पार्टी भित्र पनि बदमास आउँछ । त्यसैले समाजमा जे छ त्यहि पार्टी भित्र आउँछ । त्यसलाई हामीले कति रुपान्तरण गर्न सकेका छौं भन्ने प्रश्न हो । विगतमा रुपान्तरणको क्रम अलि बढि थियो । यसको स्तर बढि थियो, स्कील माथि थियो ।
किनभने हामीले विभिन्न प्रशिक्षणहरु सञ्चालन गथ्र्यौं । तर अहिले त्यो रुपान्तरणको स्केल घटेको छ । कम्युनिष्टहरु छुट्टै कहिबाट आएको विशुद्ध कुनै ग्रहबाट आएको होइनन् । उनीहरु पनि त्यहि समाजको प्रतिछायाँ भएको हुनाले स्वभाविक रुपमा केही नकारात्मक पात्रहरुको प्रतिनिधित्व हुनु स्वभाविक होला । जहाँ सम्म अहिले गरिब, दुःखि जनताको सन्दर्भ र जनतालाई राहात पु¥याउने सन्दर्भमा बहस हुन्छ कि हुदैन ?
भन्ने प्रसङ्गबाट के भन्न चाहान्छु भने, पहिलो कुराः अहिले खेतीपातिको समय छ । जनतालाई मल चाहिएको छ । सरकारमा गएका साथिहरुलाई पनि मैले भनिरहेको छु । तपाईंहरु जति भ्रष्टाचार विरुद्धमा कामहरु गरेपनि वा अरु जुनसुकै कामहरु गर्नुहोस् तर, जनताले खेतमा छर्नेबेला मल पाएनन् भने त्यो मलको विषयले तपाईंले गरेका सबै राम्रा कामहरु ओझेलमा पारिदिन्छ ।
त्यसैले जनतालाई त अहिले मल चाहिएको छ । समयमै मल उपलब्ध गराऔं । उसको दैनिक जीवनको कुरा छ, उसको धान उत्पादन बढ्नु पर्ने छ, गुणस्तरिय विउ चाहियो । मकै छ¥यो मकै फल्दैन, धान रोप्यो धान फल्दैन, विउको सन्दर्भमा सरकारले ग्यारेन्टि लिन सकिरहेको छैन । हामीले जमिनलाई खेतियोग्य बनाउँ न त । दैलेखका पहाडहरुमा, रोल्पा रुकुमका पहाडहरुमा भिरालो जग्गामा गरा सुधार कार्यक्रम ल्याऔं ।
उत्पादन गर्ने ठाँउहरुमा मल नबग्ने बनाईदिउँ । धादिङ, गोर्खा तिर जानुभयो भने सम्म खालका गराहरु छन् । यस्ता विषय हामीले पार्टी भित्र छलफल र बहसको विषय बनाएका छौं । कम्युनिष्ट पार्टी भित्र अलि फरक विचारधारा राख्ने व्यक्ति जसले जनताबाट कट्नुहुन्न, जनताले जे खान्छ त्यहि खानुपर्छ ।
तर धेरै ठाँउमा खेतियोग्य जमिनलाई प्लटीङ गरेर ध्वस्तै पारीरहेको देखिन्छ । यसको संरक्षण फेरि राजनैतिक दलकै नेतृत्वबाटै भएको छ नि ?
प्रयोगात्मक रुपमा हेर्दा मलाई त साँच्चीकै पिर लाग्छ । जस्तै दाङको सतबरियाबाट अगाडि बढ्नुभयो भने कैलालीको चिसापानीसम्म हामीले बाघ पालेका छौं । ठिक छ , खेतियोग्य जमिन छ त्यहाँ । कालीकोटको दुर्गम गाउँमा जनताले एउटा कुटोले भिरालोमा खन्दै मुखबाट अन्नका गेडा छरेर खेती गरिरहेका हुनछन् ।
तर त्यहि खेति पनि बाँदरले खाइदिन्छ । यो एउटा जटिलता छ । जमिन उपयोग गर्ने भन्ने सन्दर्भबाट कसरी जमिन उपयोग गर्ने त ? औद्योगीक क्षेत्र कहाँनिर छ ? आवास कहाँ बनाउने ? उत्पादन कहाँ गर्ने ? कृर्षियोग्य जमिन कहाँ छ ? भन्ने प्रश्नहरुलाई छाँया पारीएको छ । कालिकोटमा बस्ने मान्छेलाई सबै सुविधा पुगेको छ भने, उसलाई स्वास्थ्य, शिक्षा, बाटो, बिजुलीलगायत सबै सबै सुविधा पुगेको छ भने मात्रै उ त्यहाँ बस्न चाहन्छ ।
आफ्नो देशमा रोजगारी नपाएर विदेश जान्छ । २/४ लाख कमाएर ल्याएर आउँछ । बालबच्चाको भविष्य कसरी निर्माण गर्ने भन्ने सोच्छ । आफुले जस्तै दुःख बच्चाले नपावस भनेर विचार गर्छ । त्यसैले उसले कैलाली, बाँके, बर्दिया तीर जग्गा खोज्छ । कारण उसले सुविधा खोजेको हो नि त । त्यसैले उसले दुःख गरेर बालबच्चालाई पढाउन खोज्छ । अहिले सबैलाई सुविधा चाहिएको छ ।
राज्यले गर्नुपर्ने दायीत्व पुरा गर्न नसक्ने अवस्था पनि छ । जग्गा खण्डीकरण भयो, प्लटिङ नै प्लटिङ भयो । यसो भनिरहदा यो त जग्गा प्लटिङको पक्षमा रहेछ भन्लान् मलाई । तर मलाई के लाग्छ भने मान्छे किन दुर्गम पहाडहरुमा बस्ने ?
मेरो जिजु–बाजे जुम्लाको हुनुहुन्थ्यो, जग्गा खोन्दै प्यूठान आउनु भयो, पछि दाङमा आउनुभयो । हामी अहिले दाङमै छौं । किन भने यो कुरा सुविधासंग जोडिएको छ । कि त राज्यले सुविधा पु¥याइदिनु प¥यो । नत्र मान्छेले सुविधा खोज्छन् र सुविधा सम्पन्न ठाउँमा आएर बस्छन् । त्यसैले जहाँ उब्जाउ हुदैन त्यहाँ आवासीय क्षेत्र र जहाँ उब्जाउ हुन्छ त्यहाँ खेती योग्य जमिन बनाउँनु पर्छ । उब्जनी हुने तराईका फाँटमा बाघ पालेर बस्ने अनि दुर्गमका ढुंगेपाखोलाई कृर्षियोग्य जमिन भनेर भएन, यसबारे राज्यले नै सोच परिवर्तन गर्न आवश्यक छ ।
अहिले यहाँले भनेका कुरा हाम्रो राज्य सञ्चालकहरुमा किन ज्ञात नभएको होला ? नेपालीलाईसमेत तस्करी गर्न भ्याए, भूटानी शरणार्थी बनाएर बेच्नेकाम पो गर्न थाले त यसलाई कसरी लिनु हुन्छ ?
विडम्बना छ । अर्ध सामन्ती, अर्ध उपनिवेशिक मुलुक भनेर पुष्पलालले व्याख्या गरेको जस्तै अहिले पनि हामीले त्यस्तै त्यस्तै गरिरहेका छौं । दलाल पुँजीपतिको बाहुल्यता धेरै छ । नेपालमा कुनै न कुनै व्यवसाय गरिसकेपछि त्यो व्यवसायको फाइदा बाहिर लाने त्यहि त हो दलाल पुँजीपतिको परिभाषा ।
अर्ध सामन्ती भनेको सामन्तको उत्पादन प्रणाली हो । अर्ध उपनिवेश भन्नाले हाम्रा साना साना विषयहरुमा पनि छिमेकीमा खोज्ने चलन भयो । जस्तैः मैले पढ्ने बेलामा आफै तरकारी खेती गथ्र्यौं, आफै कुखुरा पाल्थ्यौं, आफै भैसी पाल्थ्यौं, आफै दुध बेच्थ्यौं, आफै किनमेल गर्न जान्थ्यौं । घरमा किन्ने भनेको नुन, किताब र कपडा मात्रै हुन्थ्यो । अरु सबै मसंगै हुन्थ्यो । त्यहि जमिन अहिले पनि छ तर हामीले खेती गर्न सकिरहेका छैनौं ।
के भयो भन्दा हामीले कृर्षि उत्पादन गर्छौं त्यसको राज्यले उचित मुल्य तोक्न सक्दैन । गोलभेडा खेति ग¥यो ५ रुपैयाँमा बेच्नुपर्छ । भोलिपल्ट फेरि बाहिरबाट आएको त्यहि गोलभेडा १५० रुपैयाँ किन्नुपर्छ यो विडम्बना भएन त । जुन खालको अवस्था सृजना भइरहेको छ यसलाई गम्भीर ढङ्गले राज्यले सोच्नु पर्दछ । राज्यले यहाँ ध्यान केन्द्रीत गर्नुपर्छ । तब मात्रै नेपाली जनता आत्मस्वाभिमानी र आत्मनिर्भर भएर बाँच्न सक्छन् ।
नत्र भने कताबाट कमिशन आउँछ ? त्यो बाटो रोज्छन् । सबभन्दा सजिलो त कमिशन हो । जस्तै एउटा व्यापारी रातारात कसरी धनि बन्छ त ? उसले मालिकलाई पनि थर्काउछ र ग्राहकलाई पनि थर्काउछ ।
मालिकलाई के भन्छ भने तिम्रो सामान यति पैसामा दिएपछि बेच्दीन्छु नत्र बेच्दीन भन्छ र ग्राहकसंग गएर यो सामान यतिमा किन्ने भए किन नत्र पाउदैनौ भन्छ । उत्पादनका क्षेत्र छैनन् । मानिसहरु पुर्ण रुपमा परनिर्भर भैसके नकिनेर सुखै छैन । बाँच्नु छ । त्यसैले गर्दा छिट्टै धनि हुने र फस्टाउने भनेकै विचौलिया दलालहरु हुन् ।
यहाँ माओवादी केन्द्र, दाङको इन्चार्ज पनि हुनुहुन्छ, समग्रमा दाङको राजनितीलाई कसरि हेरिरहनु भएको छ ?
दाङमा अहिले ठिकै छ । चुनावमा गठबन्धन भएको थियो । सबै तिर गठबन्धनको राम्रै परिणाम निस्केको थियो । तर, दुःख लाग्दो अवस्था के छ भने पराजित साथीहरुले अझै पनि पराजयलाई स्वीकार्नु भएको छैन । मानौ उहाँहरुलाई पराजय गर्ने साथीहरुले अपराध गरे भन्ने खालको व्यवहार देखाइराख्नु भएको छ । जनताले चुन्यो त अब हार्नेले हा¥यो ।
जित्नेले जित्यो स्वीकार्नु प¥यो नि त । जितेको कुरा पनि स्वीकार्नु प¥यो । आफुले हारेको कुरा पनि स्वीकार्नु प¥यो । उहाँहरुको व्यवहार के छ भने आफुले जितेको भए ठिक हुन्थ्यो, आफुले हारेको भएर त्यो हराउने मान्छे त अपराधि हो मलाई हरायो भन्ने खालको व्यवहार छ दाङमा । त्यसैले गर्दा विकाश निर्माण सम्बन्धि काममा ठिक ढङ्गबाट अगाडि बढ्न सकेको छैन । दाङमा पानीको समस्या समाधान गर्नु पर्ने छ ।
एयरपोर्टको प्रसङ्ग छः एयरपोर्ट कहाँ बनाउँने ? कसरी बनाउँने भन्ने कुरा छ । अहिले हामीले प्लेन चढ्नलाई नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ । चार लेनको बाटोको ठेक्का गर्दै आठौँ तहमा गएर त्यो बाटोलाई मर्मत सम्भार गर्नुपर्ने अवस्था छ । त्यसका लागि सबै पार्टीका साथीहरु विकास निर्माणको लागि एक ठाउँमा हुनु प¥यो भन्ने मेरो बुझाइ छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाङबाटै हुनुहुन्छ ।
अर्थमन्त्री दाङबाटै हुनुहुन्छ । स्वास्थ्य मन्त्री पनि दाङबाटै हुनुहुन्छ । केन्द्रमा पनि संघीय मन्त्री रेखा जी हुनुहुन्छ । सांसदपनि छन् । हामीले दाङलाई विकास निर्माणसंग सम्बन्धीत कामहरु अगाडि बढाउन सक्छौं जस्तो लाग्छ । दाङमा अवसर पाएर पनि गर्न नसकेका २÷३ वटा कामहरु छन् । एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान, अर्को संस्कृत विश्वविद्यालय र तेस्रो एयरपोर्ट ।
यि कामहरुलाई दाङको रणनैतिक विषयसंग जोडेर लान सकियो भने दाङको भविष्य उज्जल छ । प्रदेश राजधानी पनि दाङ नै भएकाले यसको सामरिक महत्व बुझेर सबै पार्टीका नेता देखि कार्यकर्ता सम्मले दाङ बनाउने अभियानलाई अघि बढाउनु पर्छ जस्तो लाग्छ ।
भालुवाङ्गको देउखुरी भ्यालीलाई दक्षिण एसियाकै व्यवस्थित सहरका रुपमा विकास गरेर लैजान सकियो भने यो उपत्यकामा विश्वकै मानिसले भ्रमण गर्न पनि आउने पक्का छ । त्यसैले यसलाई रणनैतिक महत्वको हिसावले विकास गरेर लैजानु पर्छ ।
व्यस्तताकैबीच समय दिनु भयो कैलाश खबरका तर्फबाट धेरै धेरै धन्यवाद
मेरो विचार र दाङका विषयमा केही कुरा आम मानिसकहाँ पु¥याउने अवसर दिनु भएकोमा कैलाश खबरलाई विशेष धन्यवाद । तपाई लगायत कैलाश परिवारलाई आभार व्यक्त गर्दछु । धन्यवाद
