काठमाडौं । निर्वाचनको मतपरिणामले ठूलो दल बन्न सफल नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर चुकायको छ । प्रधानमन्त्रीको लोभले गर्दा नेपाली कांग्रेसमा किचलो भएको छ । प्रचण्डलाई व्यवस्थापन गर्न नसक्दा र उनले आलो पालो प्रधानमन्त्री चलाउने प्रस्ताव स्वीकार गर्न नसक्दा ठूलो दल भएर पनि सरकारबाट हात धुनु पर्ने अवस्थामा आएको कांग्रेस नेताहरुले बताएका छन् ।
जसका कारण काँग्रेसमा किचलो सुरु भएको छ । पाँच वर्षअघि तेस्रो पार्टीका रुपमा प्रतिपक्षमा खुम्चिएको कांग्रेस अहिले पहिलो पार्टी बन्दा पनि प्रतिपक्षमै बसेर संसद् यात्रा तय गर्ने निश्चित भएको छ । राजनीतिक खिचातानीले उग्र रुप लिँदा एमाले हिरो बन्ने अवस्थामा आएको छ । एमालेको समर्थनमा प्रचण्ड नयाँ प्रधानमन्त्री बनेका छन् । एक अर्कालाई बोलीको गोली बर्षा गर्ने केपी प्रचण्डकै पेरिफेरीमा फेरी नेपालको राजनीति चल्ने भएको छ ।
सत्तारुढ कांग्रेस एकाएक प्रतिपक्षमा धकेलिएपछि काँग्रेस कार्यकर्तामा खिन्नता मात्रै होइन, अब कस्तो बाटो तय हुन्छ भन्ने अन्यौलता पनि सिर्जना भएको छ। एमाले प्रचण्डसँगको सहमतिमा इमान्दार भएमा पाँच वर्ष नै प्रतिपक्षको सिटमा खुम्चिनुपर्ने अवस्था काँग्रेसलाई हुनेछ । यो बीचमा राजनीतिक रंगमञ्च मिनेट मिनेटमा फेरिदै गएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा नयाँ प्रधानमन्त्री बन्छु भन्ने आश बोकेर बालुवाटार छिरेका प्रचण्डलाई मुख बेटारेर हिड्नु पर्ने अवस्थामा पु¥याएपछि नेपाली राजनीतिमा पासा पल्टिएको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैसंग राख्न चाहेपछि प्रचण्डले एमाले क्याम्प बालकोट पुगेर देउवालाई लत्याएका थिए । बालकोट पुगेर एमालेसँग सहमति गर्दै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत समर्थन जमाएपछि प्रचण्डले प्रधानमन्त्री बन्ने बाटो तय गरेका थिए ।
पाँच नबज्दै शीतलनिवास पुगेर प्रधानमन्त्रीको समर्थन पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए । यो संगै नेपालको राजनीतिमा नयाँ र विशेष खालको परिस्थिती देखा परेको भनेर जानकारहरु बोलिरहेका छन् । आइतबार बदलिएको राजनीतिक घटनाक्रमले अब नेपालको राजनीतिमा छुट्टै शासकीय शैली बदलिएको भनेर लक काट्न थालिएको छ ।
हिजोसम्म एक अर्कालाई भित्तामा पु¥याउन माहिर एमाले माओवादी रातारात मिलेर आउनुमा पनि विभिन्न आशंका मैदान चलेका छन् । यता १० जना सांसद भएका माधव नेपाल के गर्नेछन् भन्नेमा अहिले सम्म कुनै कुरा बाहिर आएको छैन । नयाँ प्रधानमन्त्री बन्ने लोभमा देउवाको अडानलाई तुहाएका प्रचण्डले एमालेलगायतका दलसँग नयाँ प्रधानमन्त्रीको कार्यकाल कसरी विताउने छन् त्यो भने हेर्न बाँकी छ ।
यता माओवादीसँग गठबन्धन गर्न नहुने युवा नेता गगन थापाहरुको स्वर अब चर्किने छ कि सेलाउने ? काँग्रेसको अवको बाटोले थाह हुनेछ । यसअघि संसदीय दलको चुनाव हार्दा पनि गगनले गोप्य कोठाभित्रको सहमति आफूलाई मान्य नहुने बताउँदै आएका थिए । यसले अब देउवामाथि पार्टीभित्र र बाहिर ठूलो दबाब बढ्ने भएको निश्चित छ । त्यति मात्रै होइन, सत्ताको खेलमा सँधै सक्रिय रहने पर्दापछाडिका नेता पूर्णबहादुर खड्काको सक्रियतामाथि पनि प्रश्न उठेको छ ।
उनले अब देउवालाई फेरि सत्तामा फर्काउन कसरी प्रयास गर्न सक्छन् ? भन्ने प्रश्न तेर्सिएको छ। दुई पटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई नाटकीय ढंगले प्रधानमन्त्री बन्न सघाउँदा केन्द्रदेखि प्रदेशमा कांग्रेस प्रतिपक्षमा धकेलिएको पीडा कसरी अभिव्यक्त हुन्छ त्यो पनि हेर्न बाँकी छ ।
अब देउवामाथि दबाबसँगसँगै पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ भने यता कसरी ओलीले सहजै प्रचण्डलाई स्वीकार्य यस भित्रको राजनैतिक गोल के होला सतहमा आउन बाकी छ ।
