काठमाण्डौ । लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने प्रक्रिया सरकारले अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गर्ने सरकारको तयारी छ । छलफलबाट किसानलाई राहत दिने निर्णयको अन्तिम प्रक्रियामा रहेको कृषि मन्त्रालयले जनाएको छ । पीडित किसानलाई राहतका साथै अहिले निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र पालिकाले उपलब्ध गराउने गरी तयारी समेत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिएका थिए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका पाँच महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् । अहिले पनि झण्डै दुई लाखको सङ्ख्यामा पशु चौपाया सक्रिय सङ्क्रमित रहेका छन् ।
मरेका र सङ्क्रमित गरी पशु चौपायामा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो रोगबाट गोरु सङ्क्रमित हुँदा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित भयो । त्यस्तै, दूध उत्पादनमा समेत असर परेको छ । पशु सेवा विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ ।
लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानले आन्दोलन गर्दै आएका छन् । उनीहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गर्दै आएका छन् ।
