२१ असार २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालले विशेषतायुक्त सेवा प्रवाह गर्ने नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् । नगरबासीको करबाट सञ्चालित भक्तपुर नगरपालिकाले गरिब वर्गलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवाहरु पनि सञ्चालन गरिने बताए ।
आइतबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा सम्बन्धी छलफल कार्यक्रम प्रजापतिले यस्तो बताएका हुन । विभिन्न खोप, औषधि र स्वास्थ्य सामाग्रीहरु सस्तो भन्दा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले औषधि किनबेचमा बढी कमीसनको खेल र भ्रष्टाचार हुनेतर्फ सजग गराए । स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताले अनाहकमा दुःख पाउने भन्दै ग्रामीण क्षेत्रहरुमा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने र अहिलेको परिप्रेक्ष्यमा घरेलु उपचार विधिलाई पनि जोगाइराख्नु पर्ने उनको भनाई छ ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख रत्नसुन्दर लासिवाले भक्तपुरका सबै बालबालिकाहरुले खोप लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रभावकारी ढंगले खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि नारायणप्रसाद के.सीले पूर्ण खोप सुनिश्चिचताबारे प्रस्ट पार्दै नेपालमा रोटा भाइरसको जोखिम दिन प्रतिदिन बढ्दै गएको हुँदा साउनदेखि रोटा भाइरसको खोप सुरु हुने जानकारी दिए ।
त्यस्तै नगर स्वास्थ्य केन्द्र ब्यासीका कमलकेशरी राजचलले भक्तपुर नपाभित्रका वडाहरुको खोपको स्थितिबारे बताउँदै भक्तपुरमा बसोबास गर्ने सबै बालबालिकाले पूर्ण खोप लिइरहेको बताइन् । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

