नाफामा कालापत्थरबाट खसिरहेका छन् हिउँका थोपा

नाफामा कालापत्थरबाट खसिरहेका छन् हिउँका थोपा

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नाफा परिसरको एक कुनामा परैबाट त्रिकोणात्मक आकृतिमा सेता डल्ला टलक्क टल्किएका देखिन्छन् । ती सिर्जनाहरू चुचुरोबाट बिस्तारै पहाडमा हिउँका थोपाहरू तपतप झरिरहे झैँ लाग्छन् । “जलवायु परिवर्तनका कारण विश्व समस्यामा छ । वातावरण विनाशमा सबै नागरिक कुनै न कुनै रूपमा सहभागी छौँ, यसबाट कोही पनि अछुतो छैन ।

त्यसकारण यो कृति पूर्ण हुन पनि हामी सबै सहभागी हुनुपर्छ भनेर देखाएको हुँ”, प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफ्नो सिर्जनाबारे खुलाउँदै भने । उपकुलपति लामाले प्रतिस्थापन कलामार्फत जलवायु परिवर्तनका कारण हिमालबाट पग्लिरहेको र त्यसरी हिउँ खस्नुमा हामी सबैको भूमिका छ भनेर देखाएका छन् ।

विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनमा हरेक मानिस सहभागी छ, त्यो हामीले बेलैमा रोक्न सकेनौँ भने हिमालहरू सकिने छन् । यसतर्फ ध्यान जानु पर्‍यो भनेर उनले कलामार्फत विश्व समुदायकै ध्यानाकर्षण गराएका छन् । चुहिँदै गरेको हिउँको थोपालाई विम्ब बनाएर उनले प्राकृतिक सम्पदा विनाशोन्मुख भइरहेको देखाउन एक महिना यस्ता सिर्जनामा समय दिएका थिए ।

प्रकृति प्रदत्त वस्तुको विनाशमा हामी सबै सहभागी छौँ भन्ने देखाउन उनले हिउँका थोपा रुपी माटोका डल्लामा रङ दलेर तयार पारिएका सामग्री एक एक आगन्तुकलाई राख्न लगाएर कृतिलाई पूर्णता दिइरहेका छन् । उनले फलामको त्रिकोणात्मक आकृतिलाई जोडेर पहाडको प्रतीक निर्माण गरेका छन् । उनले माटोमा रङ लगाएर हिउँका थोपा बनाएका छन् । फलामको त्रिकोणलाई हिमालको प्रतीक मानेर त्यसमा मसिनो डोरी लगाएर हिमालबाट हिउँका थोपा चुहिरहेको देखाएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहु आयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा एक महिने ‘प्र–कृति  प्रतिस्थापन कला प्रदर्शनी २०८०’ हेर्न आएका कला पारखीलाई उपकुलपति लामा एक एक थोपा जोड्न लगाएर कलालाई पूर्णता दिइरहेका छन् ।

अर्का कलाकार सुष्मा सिंहले ढुङ्गामा फूल फुलाउन खोजेकी छन्, जुन फूल सदाबहार रहिरहन्छ । जनजीवनमा जति पनि बाधा आउँछन् त्यसलाई सहज रूपमा लिनुपर्छ भन्ने देखाउन उनले ढुङ्गालाई प्रयोग गरेकी छन् । सेरामिक्सका दर्जनौँ ढुङ्गा बनाएर उनले त्यही ढुङ्गामा फूल फुलाएकी छन् । फलामका तारहरूको फुल बनाएर जोडेकी छन् । “आशा बाँचिरहोस् भनेर मैले ढुङ्गामा कहिल्यै पनि नओइलिने फूल फुलाउन खोजेकी छु । आशाहरू सकारात्मक हुनुपर्छ भनेर देखाउन खोजेकी हुँ” उनले भनिन् ।

प्रकृति र मान्छेबिच द्वन्द्व चलिरहेको छ । मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसैगरी प्रकृतिले पनि विभिन्न विपत्तिहरूका माध्यमबाट मानिसलाई सजाय दिइरहेको छ । यो प्रदर्शनीले त्यसको जीवन्त चित्र प्रस्तुत गरेको छ । अर्का कलाकार सागर मानन्धरले सङ्घर्षपूर्ण जीवनलाई देखाएका छन् । तेल उत्पादन गर्ने प्रक्रियासँग जोडेर उनले कला सिर्जना गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहु आयामिक कला) विभागकी प्रमुख, प्रतिष्ठानकै प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले प्रकृतिसँग जीवनको सङ्गम कस्तो छ भनेर प्रस्ट्याएकी छन् । मानिसको जन्म र मृत्यु प्राकृतिक नियम हो । प्रकृति अर्थात् रुख, पत, पतिङ्गर, मुढाहरूले पनि आफ्नो अस्तित्व बोकिरहेको छ । ती प्रकृतिहरू कदम कदम मानवसँग आबद्ध भएर नै बसिरहेको हुन्छ ।

आफूले बनाएको प्रतिस्थापन कलाको विम्ब काठको मुढालाई देखाएर उनले भनिन्, “मुढाहरूले मानिस जन्मिँदा तापको रूपमा ऊर्जा दिएको हुन्छ भने मृत्यु हुँदा पनि यसैको तापसँग विलीन भइन्छ । रुखको सम्बन्ध मानिस जन्मेदेखि मृत्युसम्म हुन्छ भनेर मैले देखाउन खोजेकी हुँ, मेरो जीवनसंगी भनेको यही रुख र प्रकृति हो ।”

मनिषलाल श्रेष्ठले थरिथरिका कपडामा सफेद रङ भरेर नौलो सन्देश छरेका छन् । मानिसको दोस्रो छाला ‘लुगा’ एक वैचारिक कला रूपात्मक मानव खोलको रूपमा अभिव्यक्त छ । मान्छेलाई सुरुमा चिन्ने भनेको लुगाबाट हो । व्यक्तिको लवाइबाट समाजले त्यही किसिमले सोचाइ बनाउँछ । अनि उसभित्र के छ भनेर बाहिरको प्रस्तुतिले दर्साउँछ । त्यसैलाई उनले कलामार्फत देखाउन खोजेका छन् । जहाँ लामबद्ध रूपमा कपडाहरू राखिएको छ । उनले मानव समुदायलाई अनुशासनको पाठसमेत सिकाएका छन् ।

मानिसमा अन्तरआत्मा र बाहिरी कुरा हुन्छ । त्यो दुईबिच हरेक मान्छेमा द्वन्द्व हुन्छ । लहरै रङ पोतेर झुन्ड्याइएका लुगा देखाउँदै उनी भन्छन्, “यो लुगा भनेको मान्छेको बाहिरी आवरण हो । यसलाई बढी मान्छेले माया गर्ने रहेछ, भित्रको आफ्नो अस्तित्वभन्दा । त्यो भित्र र बाहिरको विरोधाभासलाई दर्साउन खोजेको हुँ।”

नजिकै विनय रिमालले चराको गुणलाई विम्ब बनाएर प्रकृति विनाश भइरहेको देखाएका छन् । उनले वातावरणीय प्रभावले चराहरूलाई असर गरिरहेको छ भनेर देखाएका छन् । चराका फुलहरू भुँइभरी छन्। रुखभरी गुँडहरू देखाइएको छ । प्रतिस्थापन कलामा सुशान्तसिंह राजभण्डारीले मन्दिरमार्फत शान्तिको सन्देश छरेका छन् । अर्का कलाकार मिना कायस्थले पनि प्रतिस्थापन कलामार्फत समाजसँगको मानव सम्बन्धका बारेमा सन्देश दिएकी छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रतिस्थापन कला भनेकै बहु माध्यमको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला भएको बताउँछिन् । उनले प्रतिस्थापन कलामा प्राकृतिक वस्तुहरूको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारहरूले प्रस्तुत गर्नुभएको स्मरण गरिन् ।

“कुनै पनि वस्तु स्वयमले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरक फरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुन्छ, सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्न जरुरी छ, प्रतिष्ठानले अहिले त्यही कार्य अघि बढाएको छ, यो त्यसैको सङ्केत हो”, उनले भनिन् । उनले जलवायु परिवर्तनले पारेको असरबारे हिमालको रहस्य कला सिर्जना र प्रदर्शनीमार्फत पनि हामीले त्यो सन्देश दिन खोजिरहेका बताइन् ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्रतिस्थापन कलाको महत्त्व प्रत्यक्ष रूपमा अनुभूत गर्न सकिने बताउँछन् । यहाँ प्रदर्शन गरिएको प्रतिष्ठापन कलाले समाजमा देखे भोगेका घटनाहरुलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उनले स्मरण गरे ।

प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर दुई साता अघिदेखि सिर्जना गरिएको कलाहरू यहाँ प्रस्तुत गएिको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा जारी प्रदर्शनी चैत ३ गतेसम्म रहने छ । यहाँ मुख्यतः प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.