भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन डब्लुएचओले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उहाँले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.