निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने, सरकार गठन प्रक्रिया अघि बढ्दै

निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने, सरकार गठन प्रक्रिया अघि बढ्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन आउँदो पुस २ गते प्रदेश प्रमुखलाई बुझाइने जानकारी दिए । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ ।

त्यसपछि हालको वर्तमान सरकारले प्रतिनिधिसभा बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गर्दछ । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिबाट संसद बैठक आह्वान हुन्छ । प्रतिनिधिसभाको पहिलो बैठकमा नव निर्वाचित सांसद मध्येबाट सबैभन्दा धेरै उमेर रहेका जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएर प्रतिनिधिसभाका सम्पूर्ण सदस्यहरूलाई सपथ गराउँछन् ।

​सांसदले सपथ लिएपछि जेष्ठ सदस्यले अर्को दिनको लागि बैठक आह्वान गर्छन् । यसपछि सरकार निर्माणको प्रक्रिया अघि बढ्छ । सरकार गठनको प्रक्रिया अघि बढाउनु अघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

संविधानको धारा ७६ को उपधारा १ मा रहेको प्रावधान अनुसार सरकार बन्नसक्ने अवस्था नभएकोले धारा ७६ को उपधारा २ मा रहेको प्रावधान अनुसार संयुक्त सरकार बनाउन सुरु हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.