काठमाडौँ । बहादुर भवनस्थित कार्यालयमा निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी प्रेस अफिस स्थापना गरी काम सञ्चालनमा ल्याएको छ । कार्यालयको शुभारम्भ गर्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सोआयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाह गर्न विज्ञसहितको संयन्त्र खडा गरिएको बताए ।
प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचनसँग मिडियाले सम्बन्धित खोज्ने सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढङ्गले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो । यसका अलवा प्रेस अफिबाट आम नागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्री पनि उत्पादन गरी सम्प्रेषण हुनेछन् ।”
निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनकाे समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रुपमा ती निकायबाट प्रतिनिधि राखिएको र सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न भनिएकाे छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवालासमक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चारमाध्यमसँग उचित सहकार्य गर्नर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारीरुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न यो कार्यालय खडा गरेको बताएकाे छ ।
आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधाराणापत्रबमोजिम यो संयन्त्र स्थापना भएको हो । यस कार्यालयबाट सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि एकद्वार प्रणाली लागू भई आयोगले प्रवाह गर्ने हरेक प्रकारका सूचना तथा सन्देश प्रभावकारी तवरले लक्षित वर्गसम्म प्रवाह हुनेछ ।
यस कार्यालयबाट सञ्चारमाध्यमले मागेको वा खोजेको बखत आयोगबाट प्रवाह गर्न मिल्ने सूचना सहजै उपलब्ध गराइनेछ । निर्वाचन प्रक्रियामा सामाजिक सञ्जालको उपयोगमा वृद्धि र आयोगका सामाजिक सञ्जालको पहुँच बढ्ने, निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धि हुने, निर्वाचन र मतदानका बारेमा निर्वाचनका सरोकारवालालगायत आम मतदाता सुसूचित हुने आयोगको अपेक्षा रहेको छ ।
