काठमाडौं । प्रतिनिधिसभाको बैठकमा काठमाडौँ वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।आजको बैठकमा पूर्वमन्त्री एमाले सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरीन् ।
छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ ।
आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आएकाी छन् । अनशनरत निहारिका आफ्ना ११ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बसेकी हुन् ।
जिल्ला अदालत धनुषाले उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ ।
सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गरेकी हुन् ।

