काठमाडौं । नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
डा. जागेश्वर गौतमले जानकारी दिएको जानकारी अनुसार कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् ।
हालसम्म १८३ जना संक्रमितको मृत्यु
थप आठ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ । आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको गौतमले बताए । कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/374325473563324/
उपत्यकामा थपिए ३७७ संक्रमित
उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको छ । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन । एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
कुन जिल्लामा कति ?
प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ।
बागमती प्रदेशको काठमाडौंका २ सय ७०, काभ्रेको १३, चितवनको ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, भक्तपुरका ४१, मकवानपुरका ६३, रामेछापका ६, ललितपुुरका ६६, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ५ जनामा कोरोना पाइएको छ। यस्तै, गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपरासी पूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्युठानका ४, बर्दियाका १, बाँकेका ७५ र रुपन्देहीका ७२ जना छन्। कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १ र बैतडीमा १७ जनामा कोरोना पाइएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।
फोकल पसर्न परिवर्तन
स्वास्थ्य मन्त्रालयको कोभिड १९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
महानिर्देशकको जिम्मेवारीबाट उनलाई सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड १९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो ।
सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ। स्वास्थ्यमन्त्री मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निणर्य अनुसार श्रेष्ठलाई जिम्मेवारी दिएको बताए । यसअघि फोकल पर्सनको जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको थियो । सचिवले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सो जिम्मेवारी दिएका थिए ।
