नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा । ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र बहराइन अधिराज्यका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले त्यहाँको सरकारलाई ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानका राजा सुल्तान हाइथम बिन तारिक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदरबारमा आगमनसँगै राजदूत अर्याललाई नेपालको राष्ट्रिय गान बजाइएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् सुल्तान हाइथम बिन तारिक र राजदूत अर्यालबीच भएको छोटो भेटवार्तामा राजदूत अर्यालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सुल्तानको व्यक्तिगत सुस्वास्थ्य तथा खुसीका साथै समग्र ओमानी जनताको शान्ति, प्रगति एवम् समृद्धिको शुभकामना सन्देश व्यक्त गरे ।

सो अवसरमा उनले नेपालको रणनीतिक अवस्थितिको महत्त्वबारे चर्चा गर्दै त्यसले नेपालमा व्यापार, पर्यटन तथा लगानीका लागि प्रचुर सम्भावनालाई थप बढाएको बताए।

सुल्तान हाइथम बिन तारिकले राजदूत अर्याललाई नेपालको राजदूतको रूपमा ओमानमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यसैगरी, बहराइन लागि नेपाली राजदूत तीर्थराज वाग्लेले बुधबार बहराइनको सखीर राजदरबारमा आयोजित एक विशेष समारोहका बीच बहराइनका राजा हमाद बिन इसा अल खलिफा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए ।

त्यसअघि त्यहाँका परराष्ट्र मन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीसँग पनि राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच भएको भेटमा दुई देशको कूटनैतिक, आर्थिक विकास, पर्यटन तथा श्रम सम्बन्धका विषयमा छलफल भएको थियो ।

साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा कुराकानी भएको थियो । राजदूत वाग्ले आफ्नो कार्यभार सम्हाल्न गत साउन १६ गते बहराइन पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.