दैलेख । नेपाल मजदुर किसान पार्टी निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ दैलेखको आयोजनामा नारायण नपा र महाबु गापाका विभिन्न स्थानमा चुनावी कोणसभा, पर्चा वितरण र घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
समितिको आयोजनामा नारायण नपाको खुर्सानीबारीदेखि देवकोटाचोकसम्म घरदैलो, पर्चा वितरण तथा कोणसभा सम्पन्न भएको हो । डेकेन्द्र चोकमा आयोजित कोणसभामा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश गुरुङले नेपाली कामदार वर्गका जनताको संघर्षलाई सदनमा पु¥यान नेमकिपाका तर्फबाट आफुले उम्मेदवारी दिएको बताए ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला उपाध्यक्ष जगत ओलीले देशघातीलाई हराउनु पर्ने बताए । प्रचारप्रसार समितिको आयोजनामा महाबु गाउँपालिकास्थित रानीवन, काप्रिखोला र बाँसीमा घरदैलो तथा पर्चा वितरण कार्यक्रम सम्पन्न भएको हो । गैँडाबाँजमा घरदैलो तथा कोणसभामा बोल्दै नेमकिपा पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले देशको सार्वभौमिकता तथा स्वाधीनता रक्षार्थ नेमकिपाको मादल चिन्हमा मतदान गर्न आह्वान गरे ।
नागरिकता विधेयकको प्रस्तावले देशको सार्वभौमसत्ता नै धरापमा परेको चर्चा गर्दै उनले भने, ‘सामाजिक र शैक्षिक रुपमा सचेत नागरिकहरुले नागरिकता विधेयकको विरोध गर्नुपर्छ ।’ कार्यक्रममा नेमकिपाका दैलेखका सदस्य रत्नेश श्रेष्ठले संसदीय व्यवस्थाको आरम्भदेखि नै शासक दलहरुका कर्तुतहरुको नेमकिपाले भण्डाफोर गरेको बताए ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले संसद् सदस्यलाई सित्तैमा प्राडो र पजेरो बाँड्ने तथा पेन्सन भत्ता दिनुपर्ने पुँजीवादी मागको विरोध गरेको श्रेष्ठले बताए । राजा वीरेन्द्रको पालामा नै नेमकिपा नागरिकता विधेयकको विरोध गर्ने एक मात्र दल रहेको उनले चर्चा गरे ।
कोणसभामा प्रतिनिधिसभा उम्मेदवार प्रकाश गुरुङले पार्टीको निर्वाचन घोषणापत्रबारे सविस्तार व्याख्या गरेका थिए । कार्यक्रमको संचालन निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ का संयोजक जगत ओलीले गरेका थिए । सभामा नेक्राविसंघका उपाध्यक्ष सुरेश परियारले बोलेका थिए ।

