फुङ्लिङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेसंगै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ ।
सुनसानजस्तै रहेको कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा अहिले पर्यटकीय चहलपहल बढ्दै गएको व्यवसायीले बताएका छन् ।
यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन नै भएको कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूले बताए ।
पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्। पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा रहेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा छन् ।
कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन । जसका कारण पर्यटन व्यवसायी निराश भएका थिए ।
घुन्साका होटल व्यवसायी पेमा शेर्पाले अहिले चहलपहल निकै बढेको बताइन् । आर्थिक वर्ष २०७६ –७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए ।
दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ।
विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ ।
कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नेगरेका छन् ।
काठमाडौँबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुगिन्छ । परिषद्ले यहाँ आउजाउ गर्ने पर्यटकको विवरणसमेत राख्ने गरेको छ।
