भर्खरै : Sorry, your browser does not support inline SVG.

पहिरोले सिन्धुपाल्चोकमा १८ घर पुरिए, एकको शव भेटियो थप विवरण आउन बाकी

पहिरोले सिन्धुपाल्चोकमा १८ घर पुरिए, एकको शव भेटियो थप विवरण आउन बाकी

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । दुई गाउँका १८ घर बगेका छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १२ स्थानीय बेपत्ता रहेको वडा सदस्य वीरबहादुर थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । घटनास्थल पुगिसकेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन,’ उनले भने, ‘यकिन विवरण अझै आइसकेको छैन ।’

स्थानीय र आफन्त, सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेको न्यौपानेले बताए । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.