पाँच दिनसम्म चल्ने माओवादी बैठकमा १८ जनाले राखे धारणा

पाँच दिनसम्म चल्ने माओवादी बैठकमा १८ जनाले राखे धारणा

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई जीवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

केही सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहालले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन् ।

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान सञ्चालन गर्ने, आगामी मङ्सिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.