काठमाडौं । ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल एवं एक चर्चित पर्यटकीय मार्ग पाथीभरा यतिबेला फोहोरले भरिएको छ । हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण पवित्र धार्मिक स्थलका रुपमा रहेको यो १२ हजार फिट उचाइमा छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल फोहोरले भरिनु दुखद पक्ष हो ।
सदरमुकाम फुङ्गलिङबाट १९.४ किमी पूर्वोत्तरतर्फ अवस्थित छ । सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेको छ । यी देवीको नाम .नै पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुजा गर्न भक्तजन यहाँ आउँने गर्दछन् । लिम्बू समुदायहरू पाथीभरालाई मुक्तुवुङ भनेर चिन्छन् ।
मुक्तुको अर्थ शक्ति वा बल, वुङको अर्थ बोट भन्ने लिम्बूभाषामा भनिन्छ । यो पदमार्ग फोहोरले भरियो भने पछि पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि विभिन्न छ संस्थाले पदमार्ग क्षेत्रमा डस्टबिन राखेका छन् । हुनत यसअघि पाथीभरा क्षेत्रमा विकास समिति, नेपाल टेलिकम र अन्य संस्थाले दर्जनौँ थान डस्टबिन न राखेका होइनन् ।
तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको हुनाले यस्तो अवस्था आएको हो । खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा यत्र तत्र फालिएका छन् । पदमार्गमा यसरी फोहर बढ्नु पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण हो भन्छन् सामाजिक अभियन्ताहरु ।
उनिहरु भन्छन्, ‘नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध सङ्घसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ ।’
धार्मिक तथा पर्यटकीय क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई कारबाही गरेर यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पु¥यान नहुने तर्क सरोकारवालकाको छ । जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभए पाथीभरा दर्शनका लागि आउनेको क्रेज घट्ने पदयात्रीको भनाइ छ ।
अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी बनाए जस्तै यहाँ पनि बनाउनृ पर्ने उनीहरुको भनाइ छ । बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको सङ्कलन र व्यवस्थापन गरिनु पर्ने भनाइ छ ।
टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको जीवन आचार्यको भनाइ छ । व्यापारीले समेत जथाभावी फोहर फाल्ने गरेको हुदा उनीहरुलाई समेटेर जनचेतना जगाउँने खालको अवारनेश कार्यक्रम गरिनुृ पर्ने व्यवसायी जीवन आचार्यले बताए । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्याधिक रहेको दर्शनार्थीले बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइने भएकाले पदयात्री तथा पर्यटकहरु यहाँ अधिक आउने गर्दछन् । यसलाई लोपोन्मुख हाब्रेको चरन र उचित बासस्थानका रुपमा लिने गरिएको हुनाले पनि यसको संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान पु¥याउन जरुरी छ ।
यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाको भनाइ छ । फोहरका कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाईसमेत असर गर्ने वातावरण संरक्षणकर्मीको भनाइ छ ।
मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्नुले भुस्याहा कुकुर आउने अनि रेडपान्डालाई आक्रमण गर्ने गरेको स्थानीयको भनाइ छ । कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर सङ्कलन गनुपर्ने सरोकारवालाको भनाइ छ ।
वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने प्रयास निरन्तर भइरहेको समितिको भनाइ छ तर यो फोहोर हेर्दा जिम्मेवार नभएको भान हुन्छ । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री एवं पर्यटकहरु आउने गर्दछन् ।
भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको पाइन्छ । विशेषगरी दसैँको समयमा यहाँ भक्तजनको थामिनसक्नुको भीड लाग्ने गर्दछ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य सिजनका रुपमा लिइन्छ ।
किम्बदन्ती
पाथीभरा देवीको थुप्रै किम्बदन्ती तथा जनश्रुति रहेका छन । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । भेडी गोठालासंगसंगै एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथान भेडाहरू अलप भए ।
त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भए । गोठालाहरूलाई रातमा देवीले दर्शन दिइन् र आफ्नो उत्पतिस्थल र आकृतिको जानकारी दिदै भेडा बलिसहित पूजा अर्चना गर्न निर्देशन दिइन् । त्यसपछि गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए ।
बलि दिनासाथ ती हराएका सयौ भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे भन्ने किम्बदन्ती छ । आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।
स्मरणीय कुरा पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन ।
यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा छ ।
अलौकिक शक्तिकी देवी
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी भइकोले पाथीभरा धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज गरिएको पनि छैन । मन शुद्ध, देवीप्रतिको भक्तिभाव, पाथीभरा धाममा गर्भवति, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको ठूलो क्षति हुन्छ भन्ने धारणा रहिआएको छ ।
यहाँ पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाई चढाउँछन भने कसैले सौन्दर्य प्रशाधनका सामग्री सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि चढाउने गर्दछन् ।
पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पाउने भएकाले भक्तजन तथा पर्यटक औधि रमाउने गर्दछन् । कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुन्दर मोहनीलाग्दो दृश्य हेर्न पाइने भएकाले यसलाई आफ्नो क्यमरामा कैद गर्नेको लर्को नै लाग्ने गर्दछ ।
सेवालुङ ८५८६ मि, कञ्चनजंघा ८४८२ मि, कुम्भकर्ण फक्ताङलुङ ७७१० मि, काङबाचेन ७९०३ मि, कञ्चनजंघा ८४७६ मि, मकालु ८४६३ मि, लोत्से ८५१६ मि, नोत्से ७८५५ मिटरका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ ।
पाथीभरा कसरी पुग्ने ?
३७९४ मिटर उचाईमा रहेको पाथीभरा देवीको मन्दिर यात्रामा जान तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथमा लान वेश हुन्छ । फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि पाथीभरा यात्राको लागि उपयुक्त समय हो ।
झापाको बिर्तामोड बाट इलाम–फिदिम हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार तल्लो फेदी, उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।
