काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका प्रमुख विष्णुदत्त पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्यमन्त्रीको पत्र कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका डा.विष्णुदत्त पौडेललाई हटाएर नवौं तहका डाक्टर उज्जल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने गरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरेको निर्णय विरुद्ध सर्वोच्चले फैसला गरेको हो ।
अदालतले पौडेललाई कार्यकारी निर्देशक पदबाट हटाउनुको कारण माग गर्दै अर्को व्यवस्था नभएसम्म उक्त निर्णय कार्यन्वयन नगर्न नगराउन र पूर्ववत् अवस्थामै काम गर्न दिन विपक्षी स्वास्थ्य मन्त्रालय र नवनियुक्त निमित्त कार्यकारी निर्देशक उज्वल चालिसेको नाममा आदेश जारी गरेको छ । झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो ।
