काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची छ । सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।
हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आज पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेका लागि सारेका थिए ।
तर अन्तिम समयमा आएर सो बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
