भक्तपुर । भक्तपुरमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएपछि चुनावी सरगर्मी बढेको हो । उम्मेदवार घरदैलो अभियानमा जुटेपछि जिल्लाका दुबै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश सभा निर्वाचनमा सरगर्मी बढेको हो ।
सत्ता गठबन्धन दल, एमाले राप्रपा गठबन्धन र नेपाल मजदुर किसान पार्टीको कडा प्रतिस्पर्धा हुने देखिएपनि स्वतन्त्रलगायतका उम्मेदवार मतदाताका घर घरमा पुगि मत मागिरहेका छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्न आआफ्नै शैली अपनाइरहेका छन् । मतदाता रिझाउनमा समय खर्चिरहेका उनीहरु परिणाम भने कसको पक्षमा आउने हो त्यो भने मंसिर चार पछि नै आउने छ ।
भक्तपुर क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भक्तपुर नगरपालिका–९ सूर्यमढीबाट चुनावी अभियान थालेका छन् भने भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनले मध्यपुर थिमिको शंखधर चोक र सिरुटारबाट बाट घरदैलो शुरु गरेको छ ।
एमालेले बालकोट ३ र मध्यपुर नगरपालिका वडा नं. ६ बाट र नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि ८ बोडेबाट घरदैलो कार्यक्रम आयोजना गरी मतदाता रिझाइरहेका छन् । सम्पूर्ण उम्मेदवारहरू यतिखेर घरदैलो तथा चुनावी सभा, भेटघाट, छलफल र अन्तरक्रियामा व्यस्त देखिएका छन् ।
चियापसलदेखि सार्वजनिक स्थल सम्म भेटघाटमा व्यस्त भइरहेका उनीहरु साँच्चिकै चुनाव आयो भनेर देखाइरहेका छन् । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, नेमकिपाका अनुराधा थापामगर, राप्रपाका मोहन केसी, राप्रपा नेपालका राजु नापितले घरदैलोलाई तीव्रता दिएका छन् ।
क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल, राप्रपाका भरतबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का माधव खत्रीले मतदाता रिझाउन व्यस्त छन् । आआफ्ना चुनावी एजेण्डा बोकेर उम्मेदवार घरघर धाउन थालेका छन् ।
प्रदेश सभा–१ (क)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, एमालेका मोहनवीर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटा, जसपा नेपालका कल्पना सुनुवार, राप्रपाका राजु कुइँकेललाई मंसिर ४ को चटारोले छोएको छ ।
प्रदेश सभा–१ (ख)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका पवन भुजु, एमालेका नारायणसुन्दर सिन्तकला, नेमकिपाका सुरेन्द्रराज गोसाईँ, राप्रपाका रोशन नापित, राप्रपा नेपालका शान्तिभक्त बाटी, जनता समाजवादी पार्टी नेपालका विश्वराम शिल्पकारपनि भोट माग्नमै व्यस्त छन् ।
भक्तपुर क्षेत्र नं २ को प्रदेश सभा (क) को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका विष्णुराज कार्की, एमालेका किरण थापा, नेमकिपाका सरोजराज गोसाईँ, राप्रपाका विक्रम थापा, राप्रपा नेपालका उमेश विष्ट घरदैलोमा व्यस्त छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का डा. राजेन्द्रमान श्रेष्ठ, एमालेका चन्दनकृष्ण श्रेष्ठ, नेमकिपाका रमेश वैद्य, राप्रपाका पञ्चकृष्ण श्रेष्ठ, राप्रपा नेपालका श्रीकृष्ण नेपालले भक्तपुर क्षेत्र नं २ को प्रदेश सभा (ख) को सदस्यका लागि मत मागिरहेका छन् । घरदैलो अभियानमा सक्रिय बनेका उम्मेदवारका लागि यो चुनाव भने अग्निपरीक्षा सावित हुने भएको छ ।
बाजी मार्ने दाउमा रहेका उनीहरुले जनतालाई कतिको झूठ र सत्य बोलिरहेका छन् भन्ने कुराको रसाकस्सीबीच जनमत प्राप्त हुने अनुमान गरिएको छ । भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवार मैदानमा होमिएका छन् ।
स्वतन्त्र रूपमा उम्मेदवार बनेकाको संख्यापनि कम छैन । उनीहरुको संख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २५ हजार २८ जना मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ९४ हजार ४ सय ३९ मतदाता रहेका छन् । जिल्लामा कुल २ लाख ९६ हजार ९ सय ७६ जना मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँका दुईवटै निर्वाचन क्षेत्रमा गरी २ सय २२ वटा मतदान केन्द्र रहेका छन् ।

