भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँकेमा बाघ आतङ्कः तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेमा बाघ आतङ्कः तीन महिनामा तीन जनाको लियो ज्यान

बाँके । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।

बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो । बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो ।

विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।

राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताए । उनले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिए । बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए ।

 


Thali Mobile Pvt.Ltd.