ललितपुर । आफ्नै संरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका कञ्चनपुरका व्यवसायी सुशील चटौत दोषी ठहर भएका छन् ।
जिल्ला अदालत ललितपुरले उनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी राख्न आदेश गरेको ललितपुर जिल्ला अदालतले जनाएको छ।
सरकारी वकिल कार्यालयले सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरिएको थियो । आफ्नै संरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेको भएर थप तीन वर्ष सजाय हुनुपर्ने उसको दाबी छ ।
कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन् ।
