भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

जलेश्वर, । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले चार महिनापछि आएर नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका भङ्गाहा–८ स्थित धर्मपुरका सात किशोरीलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाले भारत पु¥याइएको रहस्य युवतीका आफन्तले खोलेका छन् । साथै आफ्ना बालिकालाई कसले, कहाँ र कसरी लैजाँदै गरेको बारेमा कसैलाई केही पनि नबताउन ओरेक नेपाल महोत्तरीका प्रमुख लीला दियालीले धम्की दिएको उनीहरुको आरोप छ ।

उनीहरुले ओरेक प्रमुख दियालीले प्रहरी र अपहरणकर्तासँग मिलेर मोटो रकम खाएर आफ्ना बालबालिकालाई कसैलाई केही भनेमा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् । घाँस काट्ने बहानामा चैत १७ गते आ–आफ्ना घरबाट निस्केका स्थानीयवासी १२ वर्षीयाद्वय सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान वनबाट अचानक हराएका थिए ।

भारतको मायानगरीको नामले चर्चित मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट बिहार राज्यस्थित सीतामढी रेल्वे स्टेशनबाट भारतीय प्रहरीको उच्च सतर्कताको सहायताले उनीहरूको उद्धार गरिएको थियो । उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारतर्फ योजनाबद्धरूपमा बेच्न लगेको आरोप लगाएकी छन् । घटना भएलगत्तै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि ती किशोरी अपहरणमा परेको आशङ्का गरेका थिए ।

अपहरणमा पूजाको नै संलग्नता हुनसक्ने आशङ्का पनि उनीहरुको थियो । घटनाबारे थाहा पाएलगत्तै प्रहरीले पूजामाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीको खोजीमा निस्केको थियो । हराएको भोलिपल्ट भारतीय प्रहरी, भारतीय एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरू भारतको सीतामढीबाट रेल चढ्न लागेको बेलामा उद्धार गरिएको थियो ।

यद्यपि अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्न उठेको थियो तर चार महिनापछि आएर त्यतिखेरको नाटकको पर्दाफास भएपछि घटनाले अर्कै मोड लिएको छ । गाउँबाहिर कहिले पनि कतै नगएका ती किशोरी आफैँले कसरी सीमामा सशस्त्र प्रहरीलाई छक्याएर समूहमै मुम्बई जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयवासीले त्यतिखेर प्रश्नसमेत उठाएका थिए ।

महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत दियालीले समेत टिकटक भिडियो देखेर ती किशोरी मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् तर पीडितका आफन्तले आफ्ना बालिकालाई विभिन्न धम्की र लोभलालच दिएर ओरेक नेपालले अपराधीसँगको साँठगाँठमा बयान फेर्न लगाएको नाम नछाप्ने शर्तमा एक बालिकाकी आमाले छोरीको भनाइलाई अघि सार्दै दाबी गरेकी छन् ।

उनीजस्तै सातै जना बालिकाका आफन्तले ओरेक नेपालले काउन्सिलिङको बहानामा आफ्ना बालबालिकालाई कसैले सोधेमा आफूले भनेजस्तै कुरा मात्रै भन्ने र अरु कुरा भनेमा तिमीहरुलाई प्रहरीले जेलभित्र हालिदिनेसमेत धम्की दिएको उनीहरुको आरोप छ । यता सातै किशोरीलाई करिब एक सातासम्म काउन्सिलिङ गरेका ओरेक नेपालकी अधिकृत दियालीले आफूहरूले उनीहरूलाई मनोपरामर्श सेवा दिएको र कुनै धाकधम्की नदिएको दाबी गर्नुभएको छ ।

उहाँले आफूहरू अनुसन्धान गर्ने निकाय नभएकाले घटनामा अर्को पक्षको संलग्नताबारे पनि कुनै जानकारी नरहेको थप्नुभयो । यसैबीच चार महिनाअघिको त्यो घटना सामसुम हुन लागेको बेलामा पूजा पासवानले कुनै बेला नजिकको साथी रहेका जितेन्द्रमाथि योजनाबद्धरूपमा किशोरीलाई बेच्न लागेको आरोप लगाएको र बालिकाका आफन्तले ओरेक नेपालकी अधिकृत दियालीले आफ्ना बालबालिकालाई धाकधम्की दिएर बयान फेर्न लगाएको आरोपसमेत बाहिर आएपछि यस घटनाले नयाँ मोड लिएको हो ।

घटनामा शङ्कास्पद पात्र मानिएकी पूजाको यो बयानले प्रहरी अनुसन्धानमाथि पनि प्रश्न उठेको छ भने यस घटनामा प्रहरी र ओरेक नेपाल दुवैको संलग्नता अपराधीसँग भएको हुनसक्ने शङ्कासमेत पैदा भएको छ । बालिकाका आफन्तले यस घटनाबारे केन्द्रीय प्रहरी, प्रदेश प्रहरी, महिला तथा बालबालिका आयोग, मानवअधिकारलगायतका सरोकारवालासँग पुनः छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.