भक्तपुर । मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँग गरेको भेटमा मेलम्चीको पानी एक महिनाभित्र पठाइने र हाललाई बोडेको खानेपानी ट्यांकीमार्फत वितरण गर्न सकिने छलफल भएको छ ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बैठकबाट मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउने सहमति भएकोतर्फ ध्यानाकर्षण गराएका थिए । भक्तपुरमा खानेपानीको निकै हाहाकार भइरहेको अवस्थामा स्थानीय जनताले मेलम्चीको खानेपानी छिटै आउने आशा गरेको बताए ।
भक्तपुरमा भएको खानेपानी समस्या समाधनको लागि भक्तपुर नपाले नगरभरिका वडाहरूमा ट्यांकरमार्फत खानेपानी वितरण गर्र्दै आइरहेको छ । यथाशक्य छिटो मेलम्चीको पानी पठाउन आग्रह गरेका प्रजापतिको जवाफमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यले भक्तपुरमा मेलम्चीको पानी वितरणको लागि कटुञ्जेको ट्यांकीसम्म पाइप जोड्ने कार्य भइरहेको बताए । करिब एक महिनाको समयअवधिमा मेलम्चीको पानी भक्तपुरमा पठाउने प्रतिबद्धता सहित भेटसम्पन्न भएको छ ।

