भक्तपुर । भक्तपुर असपतालमा प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत उक्त वार्ड आइतबार उद्घाटन गरेका हुन ।
मन्त्री श्रेष्ठले प्यालिएटिभ केयर तथा ज्येष्ठ नागरिक वार्डको रिबन काटेर उद्घाटन गर्दै बागमती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन बागमती सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको बताए ।
उनले प्रदेश सरकारअन्तर्गतको भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भक्तपुरका २ वटा विशिष्टकृष्त सामुदायिक अस्पतालको रुपमा रहेको बताउँदै बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरुले उत्कृष्टता हासिल गरी अगाडि बढिरहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले डाक्टर र चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने बताउँदै स्वास्थ्य नीति बनाएर व्यवस्थित ढंगले अगाडि बढ्न सके जस्तोसुकै विपद र महामारीमा सजिलै काम गर्न मद्दत पुग्ने तर्क गरे ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिंगो देशकै लागि गौरवको योजना भएको बताउँदै उनले प्रदेश सरकारले हाल २ शैय्याको प्यालिएटिभ केयरको सेवा विस्तार गरेकोमा आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्दै लाने लक्ष्य रहेको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै नमुना र उत्कृष्ट अस्पताल घोषणाले धेरै गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताए ।
अस्पतालको भवन ठूलो र भव्य हुँदैमा त्यहाँबाट प्रवाहित सेवा स्तरीय हुने कुरामा विश्वास गर्न नहुने बताउँदै अस्पताल व्यवस्थापन समिति, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण उपलब्धता नै अस्पताल विकासको प्रमुख आधार मेयर प्रजापतिले तर्क गरे ।
सामुदायिक अस्पतालहरु जनताको अस्पतालको रुपमा सञ्चालित हुनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य, शिक्षा जस्ता जनताका आधारभूत आवश्यकताहरुलाई व्यापारीकरण गरिन नहुने तर्क गरे ।
नेपालले क्युवाको स्वास्थ्य व्यवस्थाबाट सिक्न जरुरी रहेको बताउँदै उनले सफल नेतृत्वले संस्थालाई सफलतातिर डोर्याउने कुराको ज्वलन्त उदाहरणको रुपमा भक्तपुर अस्पताल स्थापित भएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सल्लाहकार डीपी ढकाल, भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, पत्रकार महासंघका सचिव सञ्जिव शुभचिन्तक, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थलगायतले अस्पताल विकासका बारे आफ्ना विचार खाखेका थिए ।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमलगायत अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र अस्पतालमा सहयोगी भूमिका खेल्ने पत्रकारहरुलाई दोसल्ला ओढाई सम्मानपत्र वितरण गरिएको थियो ।
