भारतीयको विस्फोटबाट महाकालीमा नेपालीको मृत्यु

भारतीयको विस्फोटबाट महाकालीमा नेपालीको मृत्यु

कैलाली । महाकाली पारी भारतीय पक्षले निर्माण गरिरहेको सडकका लागि जिलेटिन विस्फोट गराउँदा महाकाली वारी नेपालीको मृत्यु भएको छ । सडक निर्माणका लागि भारतीय पक्षले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । त्यहाँबाट उछिट्टिएर आएको ढुङ्गा लागेर नेपाली भूमिमा रहेका एक बालकको मृत्यु भएको हो ।

व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको भारतीय पक्षको लापरबाहीका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एन्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो ।

विना जानकारी विस्फोट गराउँदा नेपाल तर्फ रहेको बालकको ज्यान गएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । भारतीय पक्षबाट चरम लापरबाही भएको भन्दै यसको क्षतिपूर्ति मागिने समेत उनले बताए । यस अघि पनि यसरी बिना जानकारी भारतीय पक्षबाट विस्फोट गराइएको धामीको भनाइ छ ।

धामीले भने, ‘यहाँ नेपाल भारत सीमा क्षेत्र नजिकै छ उता विस्फोट गर्दा यहाँ समस्या हुन्छ, हिजो उनीहरुले जानकारी नदिएर विस्फोट गराएर नेपाली बाबुको मृत्यु भएको हो । यसको क्षतिपूर्ति उनीहरुले दिनुपर्छ ।’

क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट आजै दबाब सुरु गरिने धामीको भनाइ छ । भारतीय पक्षले क्षतिपूर्ति दिन तयार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.