भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो । बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन ।

हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो । “हामीले बर्सेनि महोत्सवको परम्परा बसालेका छौँ, गत वर्ष कोरोना प्रकोपले निरन्तरता दिन सकिएन”, महासचिव खतिवडाले भन्नुभयो, “यसपालि आयोजना गर्न लागिएको महोत्सवले कोरोनाका कारण थलिएको व्यापार प्रवद्र्धन हुने आस पालेका छौँ ।”

महोत्सवमा स्थानीय उद्यमलाई प्रोत्साहन दिने, कृषि उपज प्रदर्शनी तथा बिक्रीकक्ष सञ्चालन गरिने र स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्य रहेको सङ्घले जनाएको छ । महोत्सवमा रु ३५ लाख खर्च गरिने र एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव खतिवडाको भनाइ छ । यसैबीच बर्दिवाससँगै जोडिएको जिल्लाकै अर्को नगरपालिका गौशालाले पनि यस वर्षदेखि महोत्सवको थालनी गर्ने भएको छ । बर्दिवासको जस्तै व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसाथ यही आउने चैत ६ गतेदेखि १७ गतेसम्म ११ दिन सञ्चालन हुने प्रथम गौशाला महोत्सव गौशाला उद्योग वाणिज्य सङ्घले आयोजन गर्न लागेको हो ।

“कृषि उपजभित्र तरकारी उत्पादनका लागि हाम्रो नगर क्षेत्र उम्दा रहँदै आएको छ, हामी महोत्सवमा यहाँको स्थानीय उत्पादनबारे जानकारी छर्न चाहन्छौँ”, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम साह भन्नुहुन्छ, “यसबाहेक हाम्रा स्थानीय लघुउद्यमबाट उत्पादित वस्तु पनि महोत्सवमा प्रदर्शनी र बिक्रीमा राखिने छन् ।” आफ्नो नगरको परिचय र आफ्नो भन्न सकिने उत्पादनबारे उपभोक्तालाई आकर्षित गर्नु महोत्सवको मुख्य ध्येय हुने अध्यक्ष साहको भनाइ छ ।

दुवै नगरमा आयोजना हुन लागेका महोत्सवको स्थानीय संरक्षकत्व सम्बन्धित नगरपालिकाले लिएका छन् । स्थानीय उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेका महोत्सवको पूर्ण सफलताका लागि सिङ्गो नगरपालिका नेतृत्व क्रियाशील हुने बर्दिवास र गौशाला नगरपालिकाका प्रमुखहरूको भनाइ छ । यता महोत्सवको आयोजना उद्देश्यका दृष्टिले ठिक भए पनि विगतका अनुभव सम्झँदा कृषि उपज प्रदर्शनी र बेचबिखन, स्थानीय उद्यम प्रवद्र्धन र सांस्कृतिक जगेर्नाको पक्षभन्दा नाचगानले प्रश्रय पाएको बर्दिवासका आम सर्वसाधारणको टिप्पणी छ । महोत्सवलाई नाचगानभन्दा किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमको प्रवद्र्धनमा केन्द्रित हुन आवश्यक देखिएको बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता उमेश आचार्य बताउनुहुन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.