काठमाडौं । राजस्व बढाउन गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । यतिमात्रै होइन गण्डकी प्रदेश सरकारले घरेल मदिराको ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सार्वजनिक गरेको हो ।
स्थानीय उत्पादनहरु भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च हिमाली भेगमा उत्पादन हुने आलु, उवा, काउनो, कोदो, फापर, जौलगायतका उत्पादहरूको ब्रान्डिङ गर्ने पनि घोषणा गरिएको छ । गाँजा खेती, स्थानीय कृषि उत्पादन, मदिराको ब्राण्डिङ र पर्यटन प्रदवद्र्धनका लागि धर्म गुरुहरुलाई निमन्त्रणा दिनेलगायतका विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा बाचन गरेको कार्यक्रममा आगामी वर्षको बजेटको आकार घटाउने संकेत गरिएको छ । “औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने” नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थलको विकास र संरक्षण गर्दै धर्म गुरुहरुलाई बोलाएर पर्यटन प्रवद्र्धन गर्ने घोषणा पनि प्रदेश सरकारले गरेको छ ।
लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महशुल छुट दिइएको छ भने नदी किनारमा रहेका फाँट र टारहरूको सिँचाइ प्रबन्धमा जोड दिइएको छ । कृषि, स्वास्थ्य र खेलकूदमा पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा पहल गर्ने तथा पुरानो विमानस्थललाई प्रदेश सरकार मातहत ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
