भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे

‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे

काठमाण्डौ – लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा छ सय ८१ पशुचौपाया मरेका छन् । यो रोगबाट जिल्लामा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार यस रोगबाट जिल्लाको १३ पालिकामा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ । यस रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन् ।

केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताउनुभयो । उहाँका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा तीन लाख गाईभैँसी रहेका छन् । जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ । बनेपाको छ वटा वडामा एक सय १८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ । बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन् । वडा नम्बर १ देखि ५ सम्म र १० नम्बर वडामा सङ्क्रमण फैलिएको जनाइएको छ ।

केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत १० हजार रुपैयाँ तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।

जिल्लामा महामारीको रूप लिएको यस रोग नियन्त्रण बाहिर गएको बताइन्छ । यस रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार–पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै पालिकामा पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताउनुभयो ।यो रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै २०७७ सालको असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभ्रेपलाञ्चोकमा भने २०७७ सालको साउनमा पनौतीमा एक भैँसीमा देखिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.