विमानको ककपिटमा अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

विमानको ककपिटमा अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौं । उडिरहेको विमानमा अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । नियमनकारी निकायको अनुमति नै नलिई भिडियो अन्तर्वाता दिएपछि उडानमा रोक लगाएको हो ।

नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको जनाएको छ ।

विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनले भने, ‘नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो ।’

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।

दुबईबाट काठमाडौं आउँदै गरेको विमानमा एक विदेशी भ्लगरलाई लामाले अन्तर्वार्ता दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.