काठमाडौं । मंसिर अर्थात बिहे गर्ने उमेर पुगेका युवा–युवतीका उपयुक्त महिना हो । चिसो मौसम र चासोको महिना भएकाले यो उमेर समूहको रोजाइको महिना हो मंसिर । यो वर्षपनि मंसिरमा थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिए । मंसिरमा बिहे गर्न नभ्याउनेहरुले अर्को मंसिर कुर्नु पर्ने छ । विवाहको लगन जुराउने पञ्चाङ्ग निर्णायक समितिको आफ्नो छुट्टै विधिविधान भएपनि सामाजिक मान्यता अनुसार पनि मंसिर महिनामा विवाहका लागि उत्तम महिनाका रुपमा लिइने गरिन्छ ।
लगन जहिले जुरेपनि विशेष गरी धेरै विवाह हुने यही महिनामा हो । पञ्चाङ्ग निर्णायक समिति अनुसार एउटा विवाहको लगनलाई अयन, महिना, तिथि, नक्षत्र, अधिकमास, क्षयमास, चतुर्मास लगायतले प्रभावित बनाएको हुन्छ । शुभ वा अशुभ दिन भनेर निर्धारण गर्ने आधारको रुपमा यिनीहरुलाई लिइन्छ भने विवाहको मुहूर्त जुराउने सवालमा पनि महत्वपूर्ण मान्ने गरिन्छ ।
विवाहको लगन जुराउँदा सबैभन्दा पहिले अयनलाई ध्यान दिइन्छ । एक वर्षमा उत्तरायण र दक्षिणायन गरी २ वटा अयन हुन्छन् । विवाह र व्रतबन्धको लागि उत्तरायणको ५ महिना र दक्षिणायनको एक महिना गरेर एक वर्षमा ६ महिना मात्रै शुभ मुहूर्त जुर्ने गर्छ । उत्तरायणको चैत महिना भने विवाहको लागि अयोग्य मानिन्छ । व्रतबन्धको लागि भने उत्तरायणका ६ वटै महिना शुभ हुने समितिले जनाएको छ ।
कुल २७ वटा नक्षत्र मध्ये ११ वटा नक्षत्रलाई मात्रै शास्त्रले विवाह र व्रतबन्धको लागि शुभ तोकेको छ । विवाह र व्रतबन्धको लागि शुभ र अशुभ तिथिको आधारमा लग्न जुरेको नजुरेको हेर्ने गरिन्छ । शास्त्र र मान्यता अनुसार जे भएपनि पछिल्लो समय परमपरागत विवाह गर्ने शैलीलाई विर्सेर आधुनिकतामा रमाउन नयाँ पुस्ता लागि परेको देखिन्छ । विवाहमा डोली पञ्चेबाज, नौमती मुख्य आकर्षणका केन्द्र हुन तर आजभोलिका विवाहमा कतै कतै मात्र डोली देखिन्छ नत्र यो परमपरा हराउदै गएको छ ।
अभिनेता सलोन बस्नेत र एयरहोस्टेस/ मोडल करिश्मा केसीको विवाह
विस्तारै लोप हुन थालेको डोली चढेर बेहुली लिन जाने चलन अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको विवाहमा भने उजागर भएको देखियो । सलोनको विवाहमा नौमती समेत बजाइएको थियो । चन्द्रागिरी रिसोर्टमा भएको सलोनको विवाहमा उनी डोली चढेर नै रिर्सोट पुगेका थिए । विवाहमा बजेको नौमती बाजाको धुनले माहोल नै गुन्जायमान बनेको थियो ।
चन्द्रागिरी रिसोर्टमै मेहेन्दी समारोह मनाएको सो जोडीमा अभिनेता भुवन केसी, अभिनेत्री पूजा शर्मा, युद्ध बानियाँ, वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका धेप्रै कलाकारहरु पनि सहभागी भएका थिए । आधुनिकतामा रमाउन खोज्ने नेपाली चाहना नभएर परम्परा विर्सदै गएकाहरुलाई उनको विहेले भने केही सन्देश दियो ।
अविन बके/अणु प्रजापतिकाे विवाह
डोलीमा चढेर बेहुली लिन जाने चलन नेवारी समुदायमा पनि देखिदैन । यो चलन हटेको पनि ३५ देखि ४० वर्ष पुगेको यसका जानकारहरु बताउँछन् । वैवाहिक कार्यक्रमहरुमा डोली र नौमती भन्दा गाडीमा सवार र प्राय बैंडबाजा बजाएर बेहुला बेहुली लिन जाने गरेको देखिन्छ । युवा पुस्ताको आधुनिक जीवन शैलीले बढी प्रभाव पारेको धेरैको भनाइ छ ।
यता भक्तपुरमा पनि यो चलन विस्तारै हराउँदै गएपनि कतै कतै नेवारी सस्कृति, बाजा गाजा र परमपरालाई बचाइ राखेको देख्न सकिन्छ । यी विवाहका दृश्यले परमपरा भन्दा पनि आधुनिकतालाई झल्काइ रहेको छ । तर खुशीको कुरा यो विवाहमा भने नेवारी पोशाकमा नेवारी संगीतले प्रसय पाएको छ । निकै आनन्दको महशुस गराउने संगीत र बाँसुरी बजाउँदै नेवारी पोशाकमा सजिएका यी युवा युवतीले नेवारी संगीतलाई विवाहमा प्रदर्शन गरेको देख्दा हाम्रो ध्यान केन्द्रित भयो ।
परम्परा र सस्कृति तथा सँस्कारलाई जीवित तुल्याएको देख्दा हाम्रो नजर यता पुगेको हो । नेपाली सँस्कृतिलाई लाइभ देखाएको यो दृश्य हो अविन बकेको विवाह । मंसिर महिनामा अरनीको राजमार्गमा दैनिक जसो देखिने यी विवाहका दृश्य हुन । यसमा डोली भने देख्न पाइएन तर, यो अविन बकेको विवाहको दृश्यले भने नेवारी संगीत र परम्परालाई बचाएको भान गरायो ।
पर्यटन व्यवसायी राम सुन्दर बके तथा न्हुछेमाया बकेका सुपुत्र अविन बके र भुषन प्रजापति तथा निना प्रजापतिका सुपुत्री अणु प्रजापतिको साथ २०७९ मंसिर १२ गते सोमबारका दिन सु–सम्पन्न विवाहको यो दृश्यले भने कला सस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिएको छ । परमपरा, सस्कृति र सस्कार समुदायका पहिचान हुन् । तर आधुनिक जीवन शैली जीउन चाहनेले गर्दा नेपाली सस्कृति कला र परमपरा लोप हुदै गएका छन् । जसका कारण नेपाली पहिचान गुम्ने खतरा देखिएको छ । यसमा सबैको ध्यान पुग्न जरुरी छ ।
