विश्वमा अशान्ति फैलाउने कार्य तुरुन्त बन्द गर्न अमेरिकालाई नेमकिपाको चेतावनी

विश्वमा अशान्ति फैलाउने कार्य तुरुन्त बन्द गर्न अमेरिकालाई नेमकिपाको चेतावनी

काठमाडौं । चीनको सम्प्रभुताको कदर गर्दै एक चीन नीतिमा अडिग भएर प्रस्तुत हुनु अमेरिकाका निम्ति हितकारी हुने भन्दै नेमकिपाले बाइडेन प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

चीनको अभिन्न अङ्ग थाइवानमा भ्रमण नगर्न बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाको सभामुख नान्सी पेलोसी थाइवान पुगेर चीन विरोधी उत्तेजनात्मक अभिव्यक्ति दिएको खबर सार्वजनिक भएपछि चीनले त्यस कार्यको आपत्ति जनाएको छ ।

सोही विषयलाई लिएर नेमकिपाले चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप, भूखण्डतामाथि खलल पुयाउने तथा थाइवान जलडमरूमा शान्ति र स्थिरतामाथि गम्भीर क्षति पुयाएको भन्दै नेमकिपाले ध्यानाकर्षण गराएको हो ।

संरा अमेरिका स्वयम्‌ले विगतमा एक चीन नीति लाई स्वीकार गरेको यथार्थ जगजाहेर हुँदाहुँदै चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको ठहर गरेको छ ।

सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरित, विभिन्न कालखण्डमा चीन–संरा अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरित गतिविधि गर्दै एशियामा अशान्ति मच्चाउने हर्कत अमेरिकाले गरेको प्रति नेमकिपाले आपत्ति जनाएको छ ।

अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको भन्दै चीन घेर्ने नीति अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी क्वाड, अउकस नीति र सङ्गठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य बन्द गर्न आग्रह गरेको छ ।

चिनियाँ भूमिमा अस्थिरता फैलाउने, थाइवानमा क्रियाशील विखण्डनकारी सङ्गठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्ने कार्य नगर्न सूझाव दिदै त्यसैको सिलसिलाअन्तर्गत पेलोसीको थाइवान भ्रमण भएको ठहर नेमकिपाले गरेको छ ।

अटेरी गरे अमेरिका तथा बाइडेन प्रशासनले त्यसको नराम्रो परिणाम भोग्नुपर्ने भन्दै चिनियाँ घोषणा देशभक्तिपूर्ण रहेको नेपाल मजदुर किसान पाटीले बताएको छ । संरा अमेरिकी साम्राज्यवादको एसियामा नयाँ युद्ध थोप्ने चालबाजीको विरोध गर्दै नेमकिपाले एशिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

नेमकिपा र नेपाली कामदार तथा शान्तिकामी नेपाली जनता सरा अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको आगो झोस्दै हिँड्ने कार्यको विरोध एवम् निन्दा गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

विश्वभरि शान्ति, विकास र मानव जातिको साझा भविष्यका निम्ति प्रयत्नरत चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपाले एक्यबद्धता प्रकट गरेको जनाएको छ ।

साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दै संरा अमेरिकालाई आफ्नो युद्धपिपासु नीति तुरुन्त त्याग्नसमेत नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) द्धारा हस्ताक्षेरित विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.