भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

पर्सा, ७ असार। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०–८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ ।

पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ५२ अर्र्ब ५८ करोड रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताए । “चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ”, उनले भने, “बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।”

सो अवधिमा रु ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् ।

चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ ।

जबकी गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै रु २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१ दशमलव ७७ प्रतिशत अर्थात् रु ६३ अर्ब सात करोड बढीको निर्यात भएको हो ।

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको ११ महिनामा रु ५५ अर्ब तीन करोड मूल्य पर्ने रु २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो ।

चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.