भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण

व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गर्नुभयो । व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जीनियर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत वितरण गरिने उहाँले बताउनुभयो । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी–विरोधस्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने ई मूलले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले जनाएको छ ।

व्यास नगरप्रमुख न्यौपानेले भूमिहीनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन् ।

आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं ५ मा निस्सा वितरण गरेको छ । विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ ।

निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताउनुभयो । देवघाट गाउँपालिकाले वडा नं ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । यसअगाडि शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् । शुक्लागण्डकीले पहिलो चरणमा २४७ जनालाई निस्सा वितरण गरिएको छ । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिकाले छवटै वडाका ३२५ जनालाई निस्सा वितरण गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.