श्वासप्रश्वास पुन: स्थापन केन्द्र भक्तपुरमा सुरुभयो उपचार सेवा

श्वासप्रश्वास पुन: स्थापन केन्द्र भक्तपुरमा सुरुभयो उपचार सेवा

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित श्वासप्रश्वास पुन: स्थापन केन्द्रमा उपचार सेवा सुरु भएको छ । आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पानसमा दीप प्रज्ज्वलन गरी भवनको उद्घाटन गर्दै भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाले देशभरिका दीर्घ दमखोकी भएका व्यक्तिहरू लाभान्वित हुने बताए ।

जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ)लाई सहयोग गरेकोमा धन्यवाद दिए । स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबारे स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहनुपर्ने र नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए । नगरबासीमा नागरिक भावना सँगसँगै सांस्कृतिक स्तर पनि हुनुपर्ने भन्दै बिजुक्छेले विदेशी दाताहरूको सहयोगबाट सञ्चालन हुने प्रोजेक्ट तथा कार्यहरू नेपालले सफलतापूर्वक सञ्चालन गर्छ भन्ने उदाहरणीय कार्य भक्तपुर नगरपालिकाले गरेर देखाउनुपर्ने बताए ।

जनप्रतिनिधि जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर समाजमा जनचेतना फैलाउँदै गलत कुराको प्रचार हुन नदिन भूमिका खेल्नु पर्ने अध्यक्ष बिजुक्छेँले बताए । श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिम प्राप्त चिकित्सकहरूबाट केन्द्रमा सेवा प्रवाह गर्ने बताए । दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले यस संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक भूमिका खेलिरहने बताए ।

नागरिकहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच र सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले तीनवटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरिको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा बागमति प्रदेशका सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रजिअ प्रेमप्रसाद भट्टराईलगायतले महत्वपूर्ण विचार व्यक्त गरेका थिए । कार्यक्रममा जिम्टेफका अध्यक्ष बरिष्ठ दमरोग विशेषज्ञ डा. हायासीले भिडियोमार्फत आफ्नो सन्देश सुनाउँदै श्वासप्रश्वास पुनःस्थार्पन केन्द्र सञ्चालनमा सबैको सहयोगको आशा रहेको र आगामी दिनहरूमा नेपालका अन्य नगरपालिकाहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताए ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालका इन्टरनल मेडिसिनका पूर्व विभागीय प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठ, बरिष्ठ दमरोग विशेषज्ञ एवं सोलिड नेपालका अध्यक्ष डा. खेमबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, जनस्वास्थ्य सेवा केन्द्र इन्चार्ज डा. रत्नसुन्दर लासिवा, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद प्रजापति, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमपश्चात कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले भक्तपुरको च्याम्हासिंहमा निर्माणाधीन ख्वप अस्पताल भवनको स्थलगत निरीक्षण गरेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.