ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिने भनेपछि बस दुर्घटना भयाे: डा. अरूणा उप्रेती

ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिने भनेपछि बस दुर्घटना भयाे: डा. अरूणा उप्रेती

काठमाडौं । एउटा राजमार्गको बाटो साह्रै नराम्रो र घुमाउरो रहेछ। बाटो बिग्रेपछि र वर्षातको समयमा त त्यहाँ दुर्घटना हुनु अति सामान्य घटना रहेछ । बाटो बिग्रँदै जाँदा दिनमा ३–४ वटा बस दुर्घटना भएर मानिसको टाउको फुट्नु, हातखुट्टा भाँचिनु, चोटपटक लाग्नु र मृत्यृसमेत हुनु स्वाभाविक भइसकेको थियो।

त्यहाँनजिकै एउटा व्यक्तिले सानो औषधि पसल र चिया पसल पनि राखेको थियो। दुर्घटना भएपछि त्यहाँ मानिसले औषधि किन्न थाले र चिया पनि खानथाले र पसलको आकार पनि बढ्दै गयो । औषधि पसल दुर्घटना अस्पतालु भइसकेको छ । पछि त अस्पताल ३–४ तल्ले भवन नै बन्यो । दुर्घटना गराउने बसका ड्राइभरलाई सुविधाको थालनी भयो ।

सडक दुर्घटनामा परेका घाइते, तिनका परिवार, स्वास्थ्यकर्मीलगायतको चहलपहलले नजिकै चियापसल, फलफूल पसल, पत्रिका पसल, धमाधाम खुल्न थाले । दुर्घटना ग्रस्त क्षेत्र देशको एउटा ठूलो व्यापारिक केन्द्र बन्यो । आक्कलझुक्कल र थोरैमात्र दुर्घटना हुने कतिपय देशका स्वास्थ्यकर्मी पनि त्यस दुर्घटना अस्पतालमा आएर सिक्न थाले ।

त्यो दुर्घटना अस्पतालको नाम त देशको कुनाकुनामा फैलियो । कुनैकुनै ड्राइभर–खलासी त त्यस क्षेत्रमा आउँदा अस्पतालका मालिकले त्यो बस ड्राइभर र खलासीलाई बोलाएर ‘विशेष प्याकेजु दिएर त्यो ठाउँमा उनीहरूको बस पनि दुर्घटना गराउन आग्रह गर्न थाले । ड्राइभर र खलासीको २०–२० लाखको बीमा पनि गरिदिए ।

ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिएर पुरस्कार दिने आश्वासन दिए । अनि त के चाहियो धमाधम बस दुर्घटना हुनथाल्यो । त्यो ठाउँले दुर्घटनामा ‘रेकर्ड’नै राख्यो । यस्तो भएपछि अब त अति भयो भनेर नागरिक समाजले आवाज उठाउन थाल्यो । सरकारले त्यो दुर्घटना ग्रस्त क्षेत्रको सडक मर्मत गर्ने कार्यक्रम ल्याउने विचार गर्यो ।

त्यस दिन गाउँमा त ठूलो खैलाबैला मच्चियो। बाटो राम्रो बनायो भने, दुर्घटना हुन छाड्यो भने हाम्रो जीविकाको आधार नै समाप्त हुन्छ, परिवारको बिचल्ली हुन्छ, यहाँ काम गर्ने स्वास्थ्यकर्मी बेरोजगार हुन्छन् । भनेर गलत हल्ला फैलिन थाल्यो । त्यस ठाउँमा चिया पसल चलाएर बालबालिकालाई पढाउने तथा लालनपालन गर्ने महिलाको त मुखको गाँस नै खोसिन्छ।

त्यसैले सरकारले कुनै पनि हालतमा यस दुर्घटना क्षेत्रलाई सुधार गर्ने काम गर्नु हुँदैन । यो त राष्ट्रिय महत्वको ठाउँ हो । दुर्घटना ग्रस्त क्षेत्रलाई त बनाउनै हुँदैन, बरु सकिन्छ भने नेपालका अन्य भागमा पनि ‘दुर्घटना कुना’ भनेर सडक बनाउनु पर्छ। गाउँका गन्यमान्य व्यक्ति मिलेर एउटा समिति बनाएर सरकारलाई यस्तो निवेदन गरे ।

त्यस्तो अनुरोध गर्न जाँदा उनीहरू र दुर्घटना गाउँका गन्यमान्य व्यक्तिहरूले खाममा हालेर सरकारी अधिकारीलाई केही उपहार पनि दिए । सरकारी कर्मचारीले आफ्नो रिपोर्टमा लेखे ‘दुर्घटना ग्रस्तक्षेत्रमा अहिले सुधार गर्नु आवश्यक छैन । त्यहाँ सुधार गर्दा धेरै समस्या पर्ने देखिएकाले हाल त्यहाँको बाटो नबनाउने निर्णय गरिएको छ ।

सुधार गर्दा स्थानीयबासिन्दाबाट ठूलै विरोधको सामना सरकारले गर्नुपर्ने हुन्छ । यस कुराले भोलिपल्टको अखबारको प्रथम पृष्ठमा स्थान पायो । दुर्घटनाग्रस्त क्षेत्र अब कहिल्यै पनि सुधार गर्न नपर्ने भनेर संसद्बाट पास भयो । संविधानमा पनि त्यसको लागि विशेष व्यवस्था गरेर दुर्घटनाग्रस्त क्षेत्रलाई सुधार गर्नुपर्ने भयो भने संसद्को दुईतिहाइले मतदान गर्नुपर्ने प्रावधान बन्यो ।

दुर्घटना अस्पताल दुर्घटना गाउँको बारेमा अध्ययन भएर किताब पनि निस्किन थाले । अब त कसैले पनि त्यस ठाउँलाई सुधार्नु पर्ने, सडक बनाउनु पर्ने भनेर छलफलसम्म पनि गर्दैनन् । आनन्दसँग बस दुर्घटना हुन पाएको छ । मानिसहरू पीडित भएर अस्पताल गइ नै राख्छन्। बिरामी अस्पतालमा र कुरुवा तिनका होटेलमा खाना खाई नै रहन्छन् र अस्पताल तथा होटलको उन्नति भईनै रहन्छ।

अब त नेताहरू दुर्घटना अस्पतालबाट आएको आफ्नो सेयरको पैसा पनि त्यहीँ राख्न थालेका छन् । किनभने त्यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको बैंक पनि खुलेको छ । दुर्घटना अस्पतालका शाखा देशका विभिन्न भागमा खुलेपछि नेपालको जनसंख्या पनि नियन्त्रण भएको छ।

दीवा वा रात्रिबसमा चढ्नेहरू गरिब, मुर्ख भएकाले उनीहरूको संख्या कम भएपछि देशमा अशिक्षा र पछौटेपन पनि घटेको छ । नेपालको यो विकास देखेर दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रले पनि दुर्घटना अस्पताल खोल्ने तयारी गरेको विषयमा समाचार समेत आएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.