भक्तपुर । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला तथा नागरिकको भूमिका बोध गराउने उद्देश्यले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि भक्तपुरमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ सुरु भएको छ । सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह सुरु गरिएको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सन्तोष न्यौपानेले बताए ।
शहर केन्द्रित बसाइसराइँ, सहरीकरण, जनसङ्ख्या वृद्धि, सवारीसाधनको चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीका कारण ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेको उनको भनाइ छ । अहिले पनि भक्तपुरको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ । काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने ट्राफिकको भनाइ छ ।
पाँच वर्षमा देशभर १२ हजार आठ सयको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन् । यता भक्तपुरमा तीन वर्षे तथ्याङक हेर्ने हो भने दुर्घटनामा परि ६८ जनाको मृत्यु, १ हजार २ सय ३२ जना घाइते भएका छन् । उपत्यकामा हाल एक हजार तीन १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ ।
उपत्यकामा मात्रै एक हजार आठ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन् । नेपालमा विसं २००७ मा स्थापना भएको रामदलबाट ट्राफिक नियन्त्रण कार्यको प्रारम्भ भएको थियो । विसं २००९ मा पहिलो पटक ‘ट्राफिक पुलिस डिट्याचमेन्ट’को स्थापना गरी तत्कालीन बग्गीखाना हालको उपत्यका ट्राफिक प्रहरी कार्यालय रहेको स्थानमा कार्यालय सञ्चालन गरेको इतिहास छ । ट्राफिक प्रहरीको व्यवस्थासँगै प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउँदै आएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रयासरत छ । साँघुरा सडक तथा सीमित सडक सञ्जाल, सम्पूर्ण खोला करिडोर निर्माण तथा सञ्चालन नहुनु तथा सार्वजनिक यातायत क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाले ट्राफिक व्यवस्थामा कठिनाइ पैदा भएको ट्राफिक प्रहरीको भनाइ छ । लेन अनुशासनको उल्लङ्घन, तीव्र गति, ट्राफिक लाइटको वेवास्ता, जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको हो ।
मापदक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने, पैदलयात्रुले जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुन्दर श्रेष्ठले सडक दुर्घटना न्यूनिकरण गर्न जिल्लाको ट्राफिक व्यवस्थापनबारे रोडम्याप नै बनाउँन जरुरी रहेको बताए । जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताह शुरु गरेपनि भक्तपुरमा सडक दुर्घटना बढिरहेको सहभागिले दावी गरेका छन् ।
