काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकण गर्नु सरकारको प्रमुख दायित्व भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताभएकी छन् । गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरुको बैठकलाई सम्वोधन गर्दै शर्माले प्रगतिका सूचक र तथ्य जनताको बिचमा लैजानुपर्ने बताइन् ।
सरकार वा अन्य सार्वजनिक जिम्मेवारीमा बस्ने व्यक्तिबाट हुने कमजोरीलाई व्यवस्थाकै कमजोरीठानी प्रचार गर्ने गलत प्रवृत्ति विकास हुन थालेको भन्दै उनले व्यक्तिका कमजोरीका कारण व्यवस्थामाथि प्रहार नगर्न अनुरोध गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई घरको संज्ञा दिंदै उनले घरमा कस्ता व्यक्ति बसेका छन् भन्नेभन्दा पनि घर कस्तो छ भन्नेतिर कुरामा ध्यान दिनुपर्ने बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना अघि र आजको अवस्थाको तुलनात्मक अध्ययन गरी तथ्यगत विवरण जनताको बिचमा लैजान प्रवक्ताहरुलाई आग्रह गरिन् । सरकारले गर्ने राम्रा काम समयमै जनताको बिचमा पुग्नुपर्नेमा जोड दिइन् । सिंगो सरकारका गतिविधिलाई एकद्वार प्रणालीबाट जनताको बिचमा लैजाने तयारी पनि थालिएको जानकारी दिइन् ।
