भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रण

सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रण

दमौली । तनहुँको भानु नगरपालिका–४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल २३ नं मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो । प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो । डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ जना प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराईले जानकारी दिनुभयो । हिउँदे समय शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ । चैत वैशाखको समयमा वन जङ्गलमा अत्यधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिमसमेत गठन गरिएको छ ।

“यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौँ”, उहाँले भन्नुभयो, “डढेलो लागेको थाहा पाउनेबित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताउनुभयो । “

डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।” जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.