गण्डकी । गण्डकी प्रदेशसभाका पदाधिकारीले संसद सचिवालयबाट लिएको गाडी र ल्यापटप फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले असोज १ गतेदेखि नै कार्यकाल सकिएको बताएपछि उनीहरुको कार्यकाल स्वतः सकिएको छ ।
तर, पदाधिकारीहरूले आफ्नो कार्यकाल अझै बाँकी रहेको दाबी गरेका छन् । संसद सचिवालयले कार्यकाल सकिएको र सुविधा फिर्ता गर्न पत्र पठाएको छैन ।
गण्डकी प्रदेशसभा सचिवालयबाट पदाधिकारीले गाडी सुविधा लिएका छन् । ६ जनासंग ल्यापटप छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि दलका संसदीय नेताहरू, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरू कसैले पनि गाडी सचिवालयमा फिर्ता गरेका छैनन् ।
गाडी सुविधा लिनेहरूमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जनमोर्चा संसदीय दलका नेता पियारी थापा, एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, कांग्रेस प्रमुख सचेतक ओमकला गौतम, माओवादी प्रमुख सचेतक गायत्री गुरुङ र जनता समाजवादी पार्टीका प्रमुख सचेतक धनमाया लामा छन् ।
यस्तै, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, सार्वजनिक लेखा समिति सभापति रोशन गाहा, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला र प्रदेश मामिला समिति सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिएका थिए ।
आफूहरू गाडी फिर्ता गर्न गए पनि कार्यकाल नसकिएको भन्दै सचिवालयले नै गाडीको चाबी लिन नमानेको विधायन समिति सभापति लामिछानेले बताए ।
