विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सांसद तानातान सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्ल न मल्ल मात्रै परेका छैनन्, अल्पमतमा परेका छन् ।
पद जोगाउन र आफ्नो पक्षमा ल्याउन प्रचण्ड–माधव नेपाल पक्षका सांसदलाई राईले मन्त्री बनाउन र चुनावका लागि आर्थिक सहयोगको प्रलोभन सम्म देखाएको सांसदहरुले बताएका छन् । कित्ता परिवर्तन गरे आफूलाई मन्त्री पद दिने आश्वासन आएको सांसद कुलप्रसाद साम्बाले बताए ।
प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजन पछि प्रचण्ड–माधव पक्षले ४६ जना सांसद दाबी गरेको छ । ओली पक्षमा भने २१ जना सांसद छन् । पुस १२ मा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वासको प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले आफ्नो नाम फिर्ता लिएकी छन् ।
