काठमाण्डौ । सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । जम्मा एउटा कम्पनीबाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सात वटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परे अनसुार नुसन्धान जारी राख्ने बताएकी हुन ।
पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामङ्गलमा रहेको भन्सार कार्यालय अगाडिबाट सुन बरामद गरेको थियो । सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक र दुई दिनमै मुद्दा अदालत जाँदै छ ।
सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म ६० किलो सात सय १६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि अनुसन्धान जारी राखेको सीआईबीले जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पूरक प्रतिवेदनका रुपमा बुझाउने प्रहरीले जनाएको छ ।
