सामुदायिक वनमा बेसार खेती, माइकेनियाँ झार उखेल्दा जंगल फस्टायो

सामुदायिक वनमा बेसार खेती, माइकेनियाँ झार उखेल्दा जंगल फस्टायो

झापा । यस क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती गर्न थालेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती सुरु गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए ।

तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको उनको भनाइ छ । गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उनले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताए । उनले भने, ‘बेसार आफैँ पनि मलिलो बिरुवा हुँदोरहेछ ।

यसको खेती सुरु भएपछि वर्षौँदेखि माइकेनियाँ झारले उम्रिन नदिएका नयाँ बिरुवासमेत आफैँ उम्रन थालेका छन् ।’ उनले सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको बताए । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उनको भनाइ छ ।

उनका अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक–एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् । हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताए ।

वन क्षेत्रमा परीक्षणका लागि चार–चार कठ्ठामा बेसार खेती गरिएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने, मल र पानीसमेत चाहिने हुँदा बेसार खेती उपयुक्त भएको उनको भनाइ छ । उपभोक्ताले उत्पादन गरेको बेसार उनीहरूलाई दिने र सो क्षेत्रमा उम्रिएका नयाँ बिरुवा भने खाली रहेको वन क्षेत्रमा सारिने गरिएको छ ।

वन क्षेत्रमा नयाँ बिरुवा उमार्ने उपयोगी खेती बेसार भएको किसानको भनाइ छ । बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको छ । हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरु बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् ।

आगामी दिनमा पालिकाभित्र रहेको सातवटै सामुदायिक वनमा व्यावसायिकरूपमा बेसार खेती गर्ने योजना रहेको छ । डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताए । कृषि सहकारी, निजी क्षेत्रका सङ्घसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरुले भने पहिलोपटक खेतीको अभ्यास गरेको उनले जानकारी दिए ।

बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष २०७६÷७७ बाट बेसार खेतीको सुरुआत गरेको हो । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा दुई सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताए ।

उनले केन्द्रले बेसार खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुव अनुदान दिने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले बताए । बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको बताए ।

पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उनको भनाई छ । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एक प्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रुपमा लिने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.