मकवानपुर । मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् ।
धर्मराज मोक्तान, मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले बताए ।
ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो ।
सवारी साधनले ठक्कर दिंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै केहीबेर सडक बन्द गराएका थिए । अहिले ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।
