भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको भिर कोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बल माटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए । करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए । “यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ”, अध्यक्ष अर्यालले भने, “यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गर्नुभएको छ ।”

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको जनाइएको छ । “यहाँ उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ”, उनले भने, “विशेषगरी यहाँका सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ ।”

स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् । “गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब रु १५ करोड भित्रिएको थियो”, उनले भने, “गत वर्षजस्तो यस वर्ष उत्पादन भएन यसकारण आम्दानी पनि घट्न पुग्यो, आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिर कोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँच–छ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ ।

कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ । सुन्तलाखेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ । रासस